काठमाडौँ । नेपाली कांग्रेसका सांसद डिला संग्रौलाले नेपालले दक्ष जनशक्तिको रुपमा रहेका नर्सहरूलाई बेलायत पठाउन स्विकृति दिनु अस्वभाविक भएको बताएकी छन् ।
उनले नेपालमा नर्सिङ विषय पठनपाठन गर्ने कैयौं कलेजहरूले चिकित्सा शिक्षा ऐन २०७५ नियमावली २०७७ ले तोकेको मापदण्ड पूरा गर्न नसकेकाले कार्यक्रमहरु बन्द गर्ने अवस्था आएको बताएकी थिइन् ।
शुक्रबार बसेको संसद बैठकमा बोल्दै उनले भनिन्, ‘नर्सिङ कलेजले एक सय शैय्याको आफ्नै अस्पताल चलाउनु पर्ने भन्ने प्रावधान व्यवहारिक नभएको गुनासो आइरहेको छ, प्राविधिक एसएलसी, डिप्लोमा तथा स्नातक तहमा निशुल्क छात्रवृत्तिमा पढ्न योग्य सैयौं विद्यार्थीहरु पढाइबाट बञ्चित हुनु परेको छ, अर्बौं रुपैयाँको लगानी डुब्ने स्थिति पैदा भएको छ ।’
उनले कर्णाली र सुदूरपश्चिम प्रदेशमा पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न तत्काल व्यवस्था मिलाउन माग गरिन् ।