काठमाडौँ । स्याङ्जामा वर्ष दिनभित्र ४६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्ला अदालतमा आर्थिक वर्ष २०७८–७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फछ्र्यौट भएका छन् ।
जिल्ला अदालतको स्रेष्तेदार विश्वप्रसाद रेग्मीका अनुसार ९० मुद्दा फछ्र्योट हुन बाँकी छन् । अदालतमा अन्य मुद्दाभन्दा तुलनात्मक रुपमा सम्बन्ध विच्छेदका मुद्दा धेरै रहेका छन् । अघिल्लो आव २०७७–७८ मा ३०४ मुद्दा दर्ता भएकामा २४० फछ्र्यौट भएका थिए ।
सो आवका ६४ मुद्दा गत आव २०७८–७९ मा जिम्मेवारी सरेर आएको रेग्मीले जानकारी दिए । तुलनात्मक रुपमा पछिल्ला वर्षमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने क्रम बढ्दै गएको छ ।
‘अन्यको तुलनामा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढी दर्ता हुने गरेका छन्,’ रेग्मीले भने, ‘यसको मुख्य कारण वैदेशिक रोजगारी र अन्य पारिवारिक समस्या हुन् ।’ अदालतमा १३१ अंशबण्डाका मुद्दा दर्ता भएको कार्यालयका नायब सुब्बा एवं फिराद दर्ता शाखाका शोभाकान्त पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग, सञ्चारमाध्यम, आर्थिक अभाव, घरायसी समस्या, लागु औषधले निम्त्याएको समस्या, घरेलु हिंसालगायतका कारणले सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् ।
‘वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग तथा घरायसी समस्याका कारण सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन्,’ उनले भने, ‘सम्बन्ध विच्छेदले पारिवारिक बेमेलसँगै बालबालिका अभिभावकविहीन बन्ने, संरक्षण नहुँदा बेसाहारा बन्ने समस्या देखिएका छन् ।’