काठमाडौं- बाटोमा हिँडिरहेकी महिलालाई ‘साथमा भएको पैसा, मोबाइल, गरगहना दिनूस्, नदिएमा एसिड हान्दिन्छु’ भन्दै प्र्यांक भिडियो बनाउने युट्युबर पक्राउ परेका छन्।
नकारात्मक सन्देश फैलाउने खालको प्र्यांक भिडियो बनाई युट्युबमा राखेका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोटका २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ।
उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मंगलबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोका एसपी पशुपतिकुमार रायले जानकारी दिए। भुसाललाई नवलपरासी प्रहरीको सहयोगमा सोमबार पक्राउ गरी काठमाडौँ ल्याइएको हो।