काठमाडौँ । भक्तपुरमा रुख ढलेर किच्दा मृत्यु भएका तीन जनामध्ये एक जनाको पहिचान खुलेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेमध्ये एक जना भक्तपुर नगरपालिका २ का २५ वर्षीय विशेष खर्बुजा रहेका छन् ।
आइतबार दिउँंसो सवा १२ बजे भक्तपुर नगरपालिका १ सल्लाघारीमा सडक छेउको सल्लाको रुख ढल्दा बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको थियो ।
घटनामा तीन जनाको मृत्यु भएका थिए भने १५ जना घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । उनका अनुसार मृतकमध्ये दुई जनाको अझै पहिचान हुन सकेको छैन । पहिचान नखुलेका मृतक पुरुष रहेका छन् ।
तीन जनाकै उपचारको क्रममा मृत्यु भएको र बाँकी घाइतेहरूको भक्तपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।