काठमाडौं- धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले २४ साउनदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा तीन करोड ३१ लाख रुपैयाँबराबरका तीन लाख ३१ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्न लागेको हो।
कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कूल जारी पुँजी (१० लाख ३१ हजार कित्ता)को ०.५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता सेयर कर्मचारीलाई र निष्काशित सेयरको पाँच प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख नौ हजार २९५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ।
सर्वसाधारणले २९ साउनसम्म १० देखि एक हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। सो अवधिसम्म मागबमोजिम आवेदन नआए ७ भदौसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ।
धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी आईएस’ ग्रेडिङ प्रदान गरेको छ।