काठमाडौं- कोरोना भाइरस संक्रमण बढ्दै जाँदा करिब डेढ लाख डोज खोप खेर गएको छ।
सरकारले खोप लगाउने कार्यक्रमलाई तीव्र बनाउन नसक्दा करिब डेढ लाख डोज कोभिसिल्ड खोपको म्याद शनिबारदेखि सकिएको छ। स्वास्थ्य सेवा विभागका अनुसार वागमती प्रदेशमा मात्र गत बुधबारसम्म एक लाख ४१ हजार एक सय २० डोज कोभिसिल्ड खोप थियो। बिहीबार र शुक्रबार ५६ हजार खोप लगाइएको छ।
लगाउन बाँकी रहेको ८५ हजार १२० डोज कोभिसिल्ड शनिबारदेखि लगाउन नमिल्ने भएको छ। यस्तै, प्रदेश-१ मा ११ हजार, हेटौंडा कोल्ड चेन स्टोरमा ३६ हजार, काठमाडौं टेकुस्थित कोल्ड चेन स्टोरमा १९ हजार ४८० र गण्डकी प्रदेशमा दुई हजार ५७० कोभिसिल्ड खोपको म्याद शनिबारदेखि सकिएको छ।
नेपालले हालसम्म एक करोड ८३ लाख ८७ हजार ६०० डोज खोप खरिद गरेको छ। यस्तै, अनुदानबाट चार करोड ५ लाख ४ हजार ३७० डोज प्राप्त गरेको छ । कोभिसिल्डबाहेक अन्य खोपको म्याद भने बाँकी छ ।