काठमाडौँ । नेपाल घुम्न आउने ठूलो संख्यामा पर्यटक आफ्नो देश नफर्केको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९ औँ वार्षिक प्रतिवेदनमा नेपाल घुम्न आएका ठूलो संख्यामा पर्यटक समयमै नफर्कने गरेको पाइएको हो ।
महालेखाका अनुसार सन् २०१८ देखि २०२१ सम्मको अवधिमा नेपाल प्रवेश गरेकामध्ये १० हजार ९५३ जना विदेशी नेपालमा रहेको देखिन्छ । उनीहरूको भिसा अवधि सकिएपछि पनि स्वदेश फर्केको रेकर्ड अध्यागमन विभागमा नभेटिएको हो ।
विभागले २०७६ माघ १३ गतेदेखि नेपाल भित्रने विदेशीको आगमन, प्रस्थान र भिसासम्बन्धी अभिलेखीकरण गर्ने उद्देश्यले एक सफ्टवेयरमा प्रयोगमा ल्याएको थियो । तर, सफ्टवेयरमा विदेशी पर्यटकको बसाइँ अवधि, सुरु प्रस्थान र गन्तव्य देश तथा भिसाअनुसारको विवरण उल्लेख गरेको नपाइएको महालेखाले जनाएको छ ।
‘सन् २०१८ देखि २०२१ सम्मको तथ्यांकअनुसार नेपालमा आगमन गरेका विदेशी नागरिकमध्ये १० हजार ९५३ जना विदेशी नेपालमा रहेको देखिन्छ,’ महालेखाले भनेको छ, ‘यो वर्ष (आव २०७७-७८) भिसा अवधि समाप्तिपश्चात बढी अवधि बसेका २३२ जना, भिसाविपरीत कार्य गरेको र गैरकानुनी कार्यलगायतमा संलग्नसमेत २७७ जना विदेश नागरिक निष्काशन गरेको देखिन्छ ।’
अध्यागमन विभागले नेपालमा अवैध तरिकाले बस्ने पर्यटकको विवरण तयार गर्ने र कारबाही गर्ने प्रणाली तयार नगरेको महालेखाले जनाएको छ ।
‘नेपालमा रहेकामध्ये भिसा अवधि सकिएका पर्यटकको विवरण तयार गरी अनुगमन तथा कारबाहीका लागि आन्तरिक नियन्त्रण प्रणाली तयार गरेको छैन, पर्यटक आगमनपश्चात आवश्यक सूचना संकलन तथा अन्तर निकाय समन्वय गरी अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनु पर्दछ,’ प्रतिवेदनमा महालेखाले भनेको छ ।