हङकङ- मानव रेखदेख र स्याहार सुसारमा रहेको विश्वकै एकमात्रा जीवित भाले पाण्डा ३५ वर्षको उमेरमा मरेको छ। एनएन नामको यो पाण्डा मानव आयुका हिसाबले एक सय पाँच वर्ष बाँच्यो।
विगत केही सातायाता एनएनको स्वास्थ्य बिग्रँदै जाँदा उसले हिँडडुल गर्न मात्र छाडेन, चारोसमेत खाएन। यहाँको ओसन पार्कले एनएनको स्मृतिमा उसकै खोरमा शोक पुस्तिका राख्ने भएको छ। एनएनलाई उसको चलाखी र चञ्चलताका निम्ति क्लबले सधैं सम्झिरहने बताएको छ।
संसारमा सबैभन्दा लामो समय जीवित रहेको जियाजिया नामको पोथी पाण्डासँगै ११ मार्च १९९९ मा पार्कमा ल्याइएको एनएन चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानबाट ल्याइएको थियो। सन् २०१६ मा ३८ वर्षको उमेरमा जियाजिया मरेपछि एनएनले एक्लोपन महशुस गरेको थियो।
बेलायतले हङहङलाई मुख्यभूमि चीनसमक्ष हस्तान्तरण गरेको अवसर पारेर पाण्डा संरक्षण तथा अनुसन्धान केन्द्रबाट केन्द्र सरकारले हङकङ विशेष प्रशासन क्षेत्रलाई विशाल पाण्डा अध्ययन अनुसन्धानका निम्ति प्रदान गरेको थियो।
प्राकृतिक वासस्थानमा पाण्डाको औसत आयु २० वर्षको हुने गरेको छ भने मानव स्याहार पाउँदा थप १० वर्ष बाँच्नसक्ने अध्ययनले देखाएको छ। पर्यावरणीय सन्तुलन एवं जैविक विविधता कायम गर्न पाण्डा उपयोगी जनावर मानिन्छन्।