मोरङ- विराटनगरबाट दुई दिनअघि अपहरणमा परेकी एक वर्षीया बालिकाको भारत दरभंगाबाट सकुशल उद्धार गरिएको छ।
अपहरणमा संलग्न एक महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङ बुढीगंगा गाउँपालिका-१ का दीपेन्द्र यादव र ममता यादवकी एक वर्षीया छोरी निकिशा सोमबार अपहरणमा परेकी थिइन्। अपहरणकारी बालिकाका बाबु दीपेन्द्रकी प्रेमिका रहेको खुलेको प्रहरीले जनाएको छ।
दीपेन्द्रको तीन वर्षअघि ममता यादवसँग विवाह भएको थियो। त्यसपछि ममता अध्ययनका लागि काठमाडौं आएको र त्यही क्रममा दीपेन्द्रको अञ्जली साहसँग सामाजिक सञ्जालमार्फत भेट भई प्रेम बसेको तथा उनैले बालिका अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ।
अपहरणकारीले बालिकाका बाबुलाई उनलाई कपडा किनिदिने बहानामा बोलाएर अपहरण गरेको खुलेको प्रहरीको भनाइ छ।