काठमाडौं- प्रहरीले नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त मालिगाउँको टोलीले नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुन तथा चाँदीका गरगहना चोरी गर्ने सिन्धुपाल्चोकको चौताराकी १८ वर्षीया सविना पराजुली, गुल्मीको मुर्साकोटका २५ वर्षीय विष्णु पछाई र सर्लाहीको लालबन्दीका २० वर्षीय सिद्धार्थ बुढाथोकीलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-१ नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोरेर सुन तथा चाँदीको गरगहना चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनीहरूले १२ लाख रुपैयाँबराबरका गरगहना चोरी गरेको खुलेको छ।
प्रहरीले पक्राउ परेकाहरुबाट सुनको तिलहरी एक थान, चाँदीको करुवा दुई थान, चाँदीको सिसादानी एक थान, चाँदीको सुकुन्दा एक थान, चाँदीको ऐना एक थान, चाँदीको मुकुट एक थान, चाँदीको पाता दुई थान, चाँदीको दियो पाँच थान, चाँदीको गिलास दुई थान, कचौरा चार थान, चम्चा तीन थान, चाँदीको माला एक थान, विभिन्न सिक्का १३४ थानलगायत सामग्री बरामद गरेको छ ।