लन्डन- युरोपका चार मुलुकमा चर्को गर्मी महशुस भएको छ। तातो हावाका कारण जनजीवन अस्तव्यस्त बनेको छ। यही बेला ती मुलुकका जंगलमा फैलिएको डढेलोका कारण अर्को संकट निम्तिएको छ।
फ्रान्स, स्पेन, पोर्चुगल र ग्रिसमा डढेलोका कारण तातो हावाको कहर छ। फ्रान्सको पश्चिमी भेगका १५ वटा क्षेत्रमा गर्मी चरम विन्दुमा पुगेको छ। बढ्दो गर्मीका कारण आपतकालको चेतावनी सरकारी अधिकारीहरूले दिएका छन्। युरोपका अधिकांश मुलुकमा ‘हिटवेभ’को जोखिम देखिएको छ।
डढेलो निभाउन गएका अग्नि नियन्त्रकहरूलाई जंगलबाट बाहिर ल्याइएको छ। तापमान अझ बढ्ने चेतावनी मौसमविदहरूले दिएका छन्।
फ्रान्समा मात्र १६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको छ। फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रस्थित लोकप्रिय पर्यटकीय स्थलमा गर्मीको प्रभाव ज्यादा देखिएकोछ।
जंगलमा फैलिएको आगोले अहिलेसम्म १४ हजार हेक्टरका रुखबुट्यान नष्ट गरिसकेको छ। स्पेन र पोर्चुगलमा चर्को गर्मीका कारण एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ। स्पेनको दक्षिणी इलाकाबाट विस्थापित भएका करिब ३२ सय मानिसमध्ये दुई हजार जना घर फिरेका छन्।
स्पेनका कास्टिलिया वाई लियोन, गालिसिया र एक्स्ट्रेमडुरा क्षेत्रको जंगलमा पनि डढेलो फैलेको छ। डढेलोकै कारण पोर्चुगलमा ४७ डिग्री सेल्सियससम्म तापक्रम पुगिसकेको छ।
बेलायतमा पनि हालसम्मकै चर्को गर्मी महशुस भएको छ। इंग्ल्यान्डमा ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। अधिकारीहरूले जनजीवन थप अस्तव्यस्त बन्ने चेतावनी दिएका छन्।
वैज्ञानिकहरूले भने जलवायु परिवर्तनका कारण गर्मीको कहर देखिएको दाबी गरेका छन्। स्पेनको युनिभर्सिटी अफ कास्टिल्ला–ला मन्चाका वातावरणविद एन्रिक सान्चेजले गर्मीको यो कहर केही दिनमै सामान्य अवस्थामा फर्किने बताएका छन्। गर्मीका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रताडित भएकाले उनीहरूको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।