काठमाडौँ । बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलेर चोबलेपछि आलोचना भएको छ ।
वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलेर डीएसपीले ठूलो अन्याय गरेको बताए । ‘यो ममाथि गरिएको ठूलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डीएसपीलाई कडा कारवाही होस्,’ उनले भने ।
तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएको प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा सुरक्षाका लागि खटिएका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसको स्विमिङ पुलमा धकेलिदिएका थिए । वडाध्यक्ष क्षेत्रीले योभन्दा ठूलो अन्याय केही नहुने बताए ।
नगरप्रमुख तथा गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको भूमिकालाई लिएर एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै आएका छन् । आफू अनुकुल निर्णय हुने नदेखेपछि नगर प्रमुख खाँणले गणपुरक संख्या पुग्दापुग्दै उपस्थिति कम देखाएर संख्या नपुगेको भन्दै गत शुक्रबारदेखि नगरसभा स्थगित गर्दै आएका छन् ।
तिलोत्तमाको नगर कार्यपालिका र नगरसभा दुवैमा एमालेको बहुमत छ ।