काठमाडौँ । आर्थिक वर्ष २०७९-०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित छानविन समितिले आज अर्थ मन्त्रालयको ‘हार्ड डिस्क’ अध्ययन गर्ने भएको छ ।
जेठ महिनाको सीसीटीभी फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई सीसीटीभी फुटेज दिन नमानेपछि हार्ड डिस्क मगाएर समितिले अध्ययन गर्न लागेको हो ।
‘जेठ महिनाको सीसीटीभी फुटेजको हार्ड डिस्क मगाएका छौँ, त्यो प्राप्त भयो भने प्रावधिक राखेर अध्ययन गर्ने छौं,’ समिति सदस्य लक्ष्मणलाल कर्णले भने । उनका अनुसार हिजो राति ८ बजेसम्म समितिले उक्त प्रकरणबारे सरोकारवाला व्यक्तिसँग बयान, छानविन र अध्ययन गरेको थियो ।
जेठ महिनाको सीसीटीभी फुटेज माग्दा असारको दिएपछि सो प्रकरण थप रहस्य बन्दै गएको छ । समितिले जेठ महिनाको सीसीटीभी फुटेजका लागि पुनः ताकेता गरे पनि अर्थ मन्त्रालय दिन सकेको छैन ।
उता, समितिका सचिव सुरेन्द्र अर्यालले प्रावधिक अध्ययन सकिएपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर बयान लिने तयारी गरेको छ । ‘प्रावधिक अध्ययन सकिएपछि उहाँ (जनार्दन शर्मा)सँग बयान लिनेबारे समितिमा छलफल भएको छ,’ हमालले भने ।