काठमाडौं- आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल आयोजक स्कटल्यान्डसँग पराजित भएको छ।
स्कटल्यान्डको टिटवुड स्टेडियम ग्लास्गोमा आइतबार सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १२९ रनको झिनो लक्ष्य स्कटल्यान्डले १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
स्कटल्यान्डका लागि कलुम म्याकलिओडेले सर्वाधिक ६४ रनको योगदान दिए। २९ बलमा उनले १० चौका र ३ छक्कासहित ६४ रनको योगदान दिएका हुन्। यस्तै, काइल कोट्जरले ४४ रन जोडे। ५२ बल खेलको उनले ७ चौकाको मद्दतमा ४४ रन जोडेका हुन्। नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३५.५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रनमा समेटिएको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए भने सन्दीप लामिछाने २२ रनमा आउट भए। विनोद भण्डारीले १३ रन जोड्दा देव खनाल र रोहित पौडेलले समान १०-१० रन बनाए।
ओपनर कुशल भुर्तेल ३ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७ रन बनाए। आरिफ शेख शून्य रनमा आउट भए। स्कटल्यान्डका हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए। गाभिन मेनले २ विकेट झारे।
त्रिकोणात्क एकदिवसीय सिरिजमा नेपालले तीन खेलमा हार र एक खेलमा जित हात पा¥यो। नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो। यस्तै, नेपाल नामिबियासँग ४० र ६३ रनले पराजित भएको थियो।