काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र सुजाता कोइरालाबीच भेटवार्ता भएको छ । मध्य बानेश्वरस्थित निधि निवासमा दुवै नेताबीच आइतबार भेटवार्ता भएको हो ।
निधिलाई भेट्न नेत्री कोइराला उनको निवास पुगेकी थिइन् । निधि र कोइरालाबीच करिब पौने दुई घण्टा छलफल भएको थियो ।
भेटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियका साथै पार्टीको आन्तरिक राजनीतिका विषयमा समेत छलफल भएको निधिनिकट स्रोतले जनाएको छ । ‘दुवै नेताबीच समसामयिक राजनीतिका साथै अन्तर्राष्ट्रिय राजनीतिका विषयमा छलफल भयो,’ स्रोतले भन्यो, ‘कांग्रेसको आन्तरिक राजनीतिका विषयमा पनि गम्भीर छलफल भएको छ ।’
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा हुने गठबन्धनबारे पनि निधि र कोइरालाबीच छलफल भएको बताइएको छ । छलफलमा दुवै नेता पार्टीभित्र सँगै मिलेर काम गर्नु पर्ने आवश्यक्तामाथि जोड दिएको स्रोतले बतायो ।
निधि र कोइरालाको भेटवार्ताका लागि ट्रेड युनियन कांग्रेसका पूर्वसभापति खिलानाथ दाहालले भूमिका निभएका थिए । आइतबार बिहान निधि र कोइरालाबीच भएको भेटवार्ताका क्रममा दाहालसमेत सहभागी थिए ।