सिंगापुर- देश छाडेर माल्दिभ्सपछि अचानक सिंगापुर पुगेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो मुलुकमा शरण नमागेको त्यहाँको सरकारले बताएको छ।
उनी पाहुनाका रूपमा मात्र सिंगापुर पुगेका छन्। ‘राजापाक्षेले शरण मागेका छैनन्। उनलाई पाहुनाको रूपमा मात्र प्रवेशको अनुमति दिइएको छ,’ सिंगापुरको विदेश मन्त्रालयले भनेको छ। मन्त्रालयले उनी निजी यात्रामा सिंगापुर आएको प्रष्ट पारेको छ।
राजापाक्षे बिहीबार साँझ माल्दिभ्सबाट सिंगापुर पुगेका हुन्। उनी सिंगापुर पुगेपछि इमेलमार्फत राजीनामा प्राप्त भएको जानकारी श्रीलंकाको संसदका सभामुखले सार्वजनिक गरेका थिए।
श्रीलंका अहिले इतिहासकै सर्वाधिक कठिन आर्थिक र राजनीतिक संकटमा छ। संकटका बीच सडक प्रदर्शन उग्र हुँदै गएको छ। प्रदर्शनकारीले राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालयलाई निशाना बनाएका छन्। सोही कारण राष्ट्रपति राजापाक्षे देश छाडेर भागेका हुन्।
सरकारले देशभर कर्फ्यू घोषणा गरेको छ। तर, कर्फ्यू तोड्दै मानिस सडकमा उत्रिएका छन्।
राजापाक्षेले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री रनिल बिक्रमासिंघे संवैधानिक व्यवस्थाअनुसार स्वतः अन्तरिम राष्ट्रपति बनेका छन्। प्रदर्शनकारीले भने उनको पनि राजीनामा मागेका छन्।