जुम्ला- जिल्लाको तिला गाउँपालिका ८ स्थित देउराली मावि जुम्लाकोटका प्रधानाध्यापक रामभजन यादवले कक्षा कोठामा जबरजस्ती भेडा बाख्राको कपाल काटेजस्तो (बाँदे मुढाइ) शैलीमा विद्यार्थीको कपाल काटिदिएका छन्।
अटेरी गरेको भन्दै प्रअ यादवले कक्षा ९ मा पढ्ने तीन विद्यार्थीको कपाल बाँदे मुढाइ शैलीमा काटिदिएका हुन्।
भोलि कपाल काटेर आउँछु, आज काट्दिनँ भन्ने तीनजनाको कपाल बाँदे मुढाइ गरेको, अटेरी गर्ने दुई विद्यार्थीलाई समेत कक्षाबाटै बाहिर पठाएको भिडियो सार्वजनिक भएको छ।
प्रअ यादव गलत नियतले नभई धेरैपटक कपाल काटेर आउनुभन्दा अटेरी गरेकाले सम्झाउनका लागि कक्षामा कपाल काटेको बताउँछन्। यद्यपि, सामाजिक सञ्जालमा भिडियो हाल्नु गलत भएको उनले स्वीकारे।
मनोविर्मशकर्ता नन्दराज आचार्य कुनै कारणले सबै विद्यार्थीका माझ एक जनालाई सजाय दिनु, दण्डित गर्नु गलत भएको र त्यसले बालबालिकामा ट्रमाटिक स्ट्रेस अर्थात् दिमागमा अज्ञात तनाव हुने बताउँछन्।