नयाँदिल्ली- चरम आर्थिक संकटमा फसेका श्रीलंकालाई भारतले तीन अर्ब ८० करोड डलर सहायता दिएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले आइतबार प्रेस ब्रिफिङमा उक्त जानकारी दिएका हुन्।
‘हामी ती कैयन् चुनौतिहरू बारे जानकार छौं, जो श्रीलंका र त्यहाँका नागरिकले सामना गरिरहेका छन्,’ बाग्चीले भने, ‘यस संकटमा भारत श्रीलंकाका जनताका साथ खडा छ। यस कठिन क्षणबाट बाहिर निस्किन हामी सक्दो मद्दत गरिरहेका छौं।’
अहिले भारतको ‘छिमेक पहिलो’ नीतिको केन्द्रमा श्रीलंका रहेको उनले बताए। भने, ‘यस वर्ष त्यस जटिल आर्थिक संकटबाट बाहिरिन श्रीलंकालाई भारतले तीन अर्ब ८० करोड डलर सहायता दिएको छ।’
अभूतपूर्व आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंका आफ्ना नागरिकलाई दैनिक उपभोग्य सामग्री दिलाउन संघर्ष गरिरहेको छ। यो दक्षिण एसियाली टापु मुलुक विदेशी ऋणमा चुर्लम्म डुबेको छ।
श्रीलंकाले ऋणको किस्ता पनि तिर्न सकिरहेको छैन। श्रीलंका सरकारले भारत, चीन र अन्तर्राष्ट्रिय मुद्रा कोषलाई पनि सहयताका लागि आग्रह गरिरहेको छ।