काठमाडौं- न्यायपरिषदले २१ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने भएको छ।
परिषदको शुक्रबारको बैठकले जिल्ला न्यायाधीशका रिक्त २१ सिटका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको हो। शुक्रबार मात्रै परिषदले न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका जारी गरेको थियो। सोही निर्देशिकाको प्रावधानबमोजिम परिषदले दरखास्त आह्वान गर्ने निर्णय गरेको हो।
दरखास्त दिनेमध्येबाट विवादरहित र योग्य व्यक्तिलाई न्यायाधीश नियुक्त गर्ने निर्देशिकामा उल्लेख छ।
संविधानमा जिल्ला न्यायाधीश नियुक्तिका तीनवटा प्रावधान छन्। न्याय सेवाका उपसचिवहरूले २० प्रतिशत कोटामा प्रतिस्पर्धा गर्न पाउँछन्। कम्तिमा तीन वर्ष काम गरेको, ज्येष्ठता, योग्यता र कार्यक्षमताका आधारमा न्यायाधीश बन्न पाउँछन्।
४० प्रतिशतमा न्याय सेवाकै उपसचिवहरूले खुला प्रतिस्पर्धा गर्न पाउँछन्। र, बाँकी ४० प्रतिशतमा कानून व्यवसायी, न्यायसेवाका अधिकृतलगायतबाट छनोट गरिन्छ।