डा. सुधीन्द्र शर्मा
निधन हुनुभन्दा करिब २० वर्षअघि सौभाग्य शाहसँग परिचय भएको थियो। ०४५ सालतिर उनी र म त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गरिरहेका थियौँ। सौभाग्य पहिलो र म दोस्रो वर्षमा थियौँ। त्यतिवेलै उनको आँखामा लेख्ने, पढ्ने र केही जान्ने उत्सुकता देखिन्थ्यो। हँसिला र मिजासिला स्वभावका थिए। स्नातकोत्तर अध्ययनरत छँदै फिल्ड रिसर्च गरेर कृति प्रकाशित गरेका थिए, जुन त्यतिवेला असामान्य थियो। सौभाग्य मलाई निकै ‘डाइनामिक’ लाग्थे। उनीहरूको एउटा समूह थियो। त्यो समूहसँग हामी पनि घुलमिल थियौँ।
उनले बूढानीलकण्ठ र मैले सेन्ट जेभियर्स स्कुलमा पढेका हौँ। हामी एक हिसाबले दौँतरीजस्तै हौँ। तर, हाम्रो चिनजान स्नातकोत्तर अध्ययनका वेला मात्र भयो।
त्यतिवेला एकजना पन्त थरका प्राध्यापक हुनुहुन्थ्यो, पछि उहाँ अस्ट्रेलिया बस्न थाल्नुभयो। उहाँले सौभाग्यको समूहलाई निकै सक्रिय बनाउनुभएको थियो। त्रिविका राम्रो विद्यार्थी भइकन पनि उनको पृष्ठभूमि पत्रकारितासमेत थियो। पढ्न, लेख्न रुचि राख्थे। समसायिक विषयमा पनि निकै अवगत रहन्थे। ‘दी राइजिङ नेपाल’मा काम गरेको कारणले पनि होला- उनमा फराकिलो विश्वदृष्टि थियो। संसारका विभिन्न ठाउँमा के भइरहेको छ भन्ने जानकारी राख्थे। त्यो विश्वदृष्टि पछिसम्म उनमा निरन्तर थियो।

पढाइ सकेर म आफ्नो काममा लागेँ। उनी त्रिविमा पढाएर, अमेरिका गएर, त्यहीँ धेरै वर्ष बसेर, नेपाल फर्केर यहीँ पढाउन थाले। त्यसबीचमा हाम्रो सम्बन्ध निरन्तर रह्यो। त्रिविको शान्ति, द्वन्द्व तथा विकास अध्ययन केन्द्रको डिजाइन उनैले गरेका थिए। र, त्यसैको संयोजक थिए, उनी जीवनको उत्तरार्द्धमा। त्यहाँ स्रोत व्यक्तिका रूपमा मलाई पनि आमन्त्रित गरिरहन्थे।
हिमाल एसोसिएसन, रातो बंगला फाउन्डेसन, इन्टरडिसिप्लिनरी एनालिस्ट (आईडीए)को सहकार्यमा हामीले सन् १९९९ देखि ‘इमर्सन कोर्स अन कन्टेम्पोररी सोसल इस्युज्’ चलाएका थियौँ। शुरुमा त्यो कोर्सको संयोजक म थिएँ। त्यसमा धेरै राम्रा व्यक्तित्वहरू हुनुहुन्थ्यो- कुन्द दीक्षित, प्रत्युष वन्तलगायत। त्यो कार्यक्रममा सौभाग्य पनि सहभागी थिए। सन् २००४ मा सोसल साइन्स बहाः शुरु भएपछि उसैले कोर्स सञ्चालनको जिम्मा लियो। त्यसपछि हरि शर्मा यसको संयोजक बन्नुभयो।
सौभाग्यको विद्यावारिधिको एउटा पाटो ‘जेन्डर’ भएकाले पनि एक-दुइटा कोर्स ‘जेन्डर एन्ड सोसाइटी’मा लिएका थिए। त्यो सन्दर्भमा पनि हाम्रो भेटघाट, कुराकानी भइरहन्थ्यो।
उनीसँग मेरो अन्तिम भेट ललितपुर भैँसेपाटीस्थित उनकै निवासमा भएको थियो। त्यतिवेला करिब डेढ घण्टा हामीले छलफलमा बिताएका थियौँ। त्यो छलफलको सार विषय किन नेपाल राज्य आफ्नो स्वार्थअनुसार चल्न सक्दैन भन्ने थियो। किन बाह्य शक्तिले नेपाली राजनीतिक शक्तिमार्फत आफ्नो स्वार्थ यहाँ ‘प्ले’ गराउँछन् भन्ने विषयमा लामो बहस गरेका थियौँ, हामीले।
त्यतिवेला मन्त्री रहेका केही नेताको नाम लिएर उनले भनेका थिए- मेरो कुरो सुन्छन् तर जवाफ दिन सक्दैनन्। ती मन्त्री अहिलेको सरकारमा पनि जिम्मेवार मन्त्रालयमा छन्।
कर्णालीमा जन्मेर प्रारम्भिक शिक्षा त्यहीँ लिएका थिए। र, शिक्षा मन्त्रालयले दिने छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा छनोट भए। सामान्य पारिवारिक पृष्ठभूमि हो, उनको। बूढानीलकण्ठ स्कुलमा पढ्न पाएकैले उनको शिक्षाको जग मजबुत बन्यो। स्नातकोत्तर सकेर त्रिविमै सुरुमा आंशिक र पछि करारमा पढाउन थाले।
सोही क्रममा अमेरिकाको प्रख्यात हार्वर्ड विश्वविद्यालयमा फुलब्राइट छात्रवृत्ति पाए। र, मानवशास्त्रमा विद्यावारिधि हासिल गरे। फुलब्राइटमा उनलाई झण्डै आउट गरिएको थियो।
त्यसको कारण पनि कम रोचक रहेनछ। अमेरिकाको क्यालिफोर्नियामा भएको दंगामा श्वेत जातिका प्रहरीले काला जातिमाथि हिंस्रक व्यवहारबारे ‘दी राइजिङ नेपाल’मा उनको लेख प्रकाशित भएको रहेछ। अमेरिकाबारे गलत सूचना सम्प्रेषण गरेको बताउँदै उनलाई फुलब्राइट प्रतिस्पर्धाबाटै हटाउने प्रयास भएछ। उनले लेखेको प्रसंग फुलब्राइट छनोटमा बसेका केही व्यक्तिलाई मन परेको रहेनछ। तीमध्ये केहीले उनलाई छनोट नगर्ने प्रयास गरेछन्। तर, सँगै रहेका अन्य व्यक्तिलाई उनको विचार मन परेको र उनीहरूकै निर्णय स्वीकार्य भएकाले उनी छनोटमा परे।
तर, उनी आफ्नो अडानमा अडिग रहन्थे, ब्रह्मले देखेको कुरा लेख्न पटक्कै हिचकिचाउँदैनथे। फुलब्राइट पाएर अमेरिका पुगेपछि उतै हराउने आम प्रवृत्ति चिर्दै उनी अध्ययन सकेर स्वदेश फर्किए। जब कि, उनीसँगै अमेरिकामै प्रशस्त अवसर थिए।
०६२-६३ को जनआन्दोलन र त्यसपछि भएको सत्ता परिवर्तनलाई लिएर उनको सोच आम प्राज्ञिक व्यक्तित्वभन्दा फरक थियो। ‘इस्ट वेस्ट सेन्टर’बाट प्रकाशित ‘सिभिल सोसाइटी इन अनसिभिल प्लेसेस’ शीर्षक कृतिमा उनले त्यसबारे आफ्नो फरक मत राखेका छन्, जुन सन् २००८ मा प्रकाशित भएको थियो।
उनी नेपाललाई ‘कमजारे’ राज्यका रूपमा चित्रण गर्थे। र, त्यस्तो राज्यमा कसरी सत्ता परिवर्तन कसरी हुन्छ/गराइन्छ भन्ने तर्क गर्थे। आफैँसँग उपलब्ध स्रोत र साधन परिचालन गरी राज्य नचलेकाले नेपाल कमजोर भएको उनको तर्क हुन्थ्यो।
यसमा उनको पहिलो तर्क हुन्थ्यो- राज्य वैदेशिक सहयोगमा निर्भर रहेकाले दातृ राष्ट्र/निकायको प्रभाव अत्यधिक परेको हो। दोस्रो- भारतले नेपालका राजनीतिक दलहरूमार्फत सत्ता परिवर्तन गराउँछ भन्ने उनको तर्क हुन्थ्यो।
गैरसरकारी संस्थाहरू पश्चिमा दातृ राष्ट्र/निकायको र राजनीतिक दलहरू भारतको इसारामा चल्ने भएकाले दुवैको स्वार्थ दोस्रो जनआन्दोलनबाट अगाडि आएका नेपाली पात्रहरूमार्फत पूरा हुने उनी दाबी गर्थे। राज्य कुनै राजनीतिक शक्तिको नियन्त्रणमा गएपछि पनि उसले राज्यको स्वार्थअनुरूप चल्नुपर्ने उनको तर्क हुन्थ्यो। र, राज्यको स्वार्थ हेर्दै गर्दा राष्ट्रिय हितमा अडान लिनैपर्ने बताउँथे।
पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्नुअघि उनले भनेको एउटा प्रसंग सम्झनामा छ। उनले भनेका थिए- पछिल्ला दिनमा भारतबाटै पालनपोषण भए पनि माओवादीहरू सरकार चलाउने क्रममा राष्ट्रिय हितअनुसार चल्न बाध्य हुन थालेका छन्। राष्ट्रिय हितअनुसार चल्दा जसले उनीहरूलाई हुर्काउन, बढाउन मद्दत गरेका थिए, उनीहरू रुष्ट भए। यस्तो अवस्थामा उनीहरूलाई सत्ताबाट हटाउन पनि सक्छन्। नभन्दै त्यसको करिब एक महिनापछि दाहाल नेतृत्वको सरकार ढल्यो।
नेपालमा भारतले कुनै पनि बलियो नेतृत्व स्थापित हुन नदिने उनको बुझाइ थियो। र, कमजोर पात्र अगाडि सारेर आफ्नो स्वार्थ पूरा गरिरहने उनी बताउँथे। तिनै कमजोर पात्र पनि आवश्यकताभन्दा बढी चलाख र राष्ट्रवादी देखिए भने अर्को राजनीतिक शक्तिमार्फत हटाइने उनको तर्क हुन्थ्यो।
नेपालमा बलियो नेतृत्व स्थापित हुन त्यसले कि त प्रतिद्वन्द्वीलाई आफूमा समाहित गर्नुपर्छ, या त्यसरी समाहित हुन नसक्ने शक्तिलाई पाखा लगाउनुपर्छ भन्ने उनको मौलिक तर्क हुन्थ्यो।
उनी प्रजातान्त्रिक विचारधाराका मानिस थिए, कुनै अधिनायकवादी शासन स्वीकार्दैनथे। तर, तत्कालीन राजा ज्ञानेन्द्रलाई खलनायकका रूपमा प्रस्तुत गरिँदै गर्दा उनले त्यसलाई त्यति सजिलो रूपमा नलिऊँ भनेका थिए। राजा ज्ञानेन्द्रले पनि केही राष्ट्रिय स्वार्थ पहिचान गर्न खोजेका होलान् भनेका थिए। त्यतिवेला धेरै कुरा प्रस्ट भएनन्। त्यतिखेर राजा ज्ञानेन्द्रसँग अमेरिका र भारत रुष्ट भएका थिए।
ढाकामा सम्पन्न शिखर सम्मेलनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा चीनलाई आमन्त्रित गरेकामा भारत उनीप्रति रुष्ट थियो। अक्युपाइड कन्ट्री अफगानिस्तानलाई कसरी सार्कमा ल्याउने भनेर राजा ज्ञानेन्द्रले प्रश्न गरेकाले अमेरिकीहरू पनि रुष्ट भएका थिए। त्यही कारण राजा ज्ञानेन्द्रलाई हटाउन यहाँका राजनीतिक दललाई अमेरिका र भारतले सहयोग पुर्याएका थिए भन्ने अहिले धेरैलाई जानकारी छ। त्यसैले राजा ज्ञानेन्द्रले अधिनायकवादी शासन चलाउन खोजेका मात्र नभई राष्ट्रिय हितमा पनि उनले केही गर्न खोजेको सोच सौभाग्यको थियो।
उनी भीडको मनोविज्ञानभन्दा विपरीत धारका प्राज्ञिक थिए। उनी भीडको पछाडि बग्ने नभई आफ्नो सुझबुझ र विचारअनुसार प्रस्टसँग लेख्न सक्ने व्यक्तित्व हुन्। आफ्नो सोचमा निर्भिक भएर कलम चलाउन सक्थे उनी।
राजा ज्ञानेन्द्रको कदमविरुद्ध आन्दोलन शुरु हुँदै गर्दा सौभाग्यले आफ्ना प्रस्ट धारणा राख्न छाडेनन्, जसका कारण उनी ‘सेन्सर’मा पनि परे। त्यसका बावजुद उनले आफ्नो लेखनीलाई वातावरण सुहाउँदो बनाएनन्।
उनको जीवनको उत्तरार्द्धतिर सबैका हात-हातमा मोबाइल थिए, उनको हातमा थिएन। सबै सामाजिक सञ्जालमा आवद्ध थिए, उनले आफूलाई त्यसमा संलग्न गराएनन्। बिहान घर, दिउँसो त्रिवि, अपराह्न शान्ति, द्वन्द्व र विकास कार्यक्रमको कार्यालय र साँझ घर। उनको रोचक दैनिकी हुन्थ्यो।
उनको अर्को खूबी थियो- नेपाली र अंग्रेजी दुवै भाषामा कलम चलाउनु सक्नु। अंग्रेजीमा पनि उनी प्राज्ञिक तहको भाषा पस्किन्थे। र, पत्रपत्रिकामा सबैले बुझ्नेगरी सरल भाषा पस्किन पनि उनी पोख्त थिए। भीडको अनुसरण नगर्ने र आफ्नै निर्भिक विचार स्पष्ट रूपमा राख्ने व्यक्तित्व थिए, सौभाग्य।
‘सिभिल सोसाइटी अन अनसिभिल प्लेसेस’ र नेपालमा माओवादी द्वन्द्व र त्यसलाई लिएर कसरी सत्ता परिवर्तन भयो भन्ने विषयका उनका कृतिमा ठूलो शंका व्यक्त गरेका थिए। सन् २००४ देखि २००६ तिरको उतारचढावको सेरोफेरोमा उनले यी विषयमा कलम चलाएका थिए। बाह्य शक्तिले सत्ता परिवर्तन गराएको र त्यसका लागि पश्चिमा शक्ति र भारत लागिपरेको उनको तर्क थियो। भारतले नेपालका राजनीतिक दल र पश्चिमा शक्ति राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमार्फत सत्ता परिवर्तनमा भूमिका निर्वाह गरेको उनको तर्क थियो। दुवै बाह्य शक्तिप्रति उनी गहिरो आशंका व्यक्त गर्थे।
नेपाली राज्यको चरित्र हेर्दा नेपाली जनता आफैं एकताबद्ध भएनन् र आफैंबीच सहकार्य गर्न सकेनन् भने सधैँ बाह्य शक्तिहरूले खेलिरहन्छन् भन्ने उनको तर्क हुन्थ्यो। त्यसो नभएसम्म नेपालमा स्थायित्व नआउने र राजनीतिक स्थायित्व नआएसम्म विकास हुन सक्दैन भन्ने तर्क उनी हमेशा गरिरहन्थे।
उनको त्यो तर्कलाई फर्केर हेर्दा त्यतिवेला नौलो र होइनजस्तो लाग्थ्यो। त्यतिवेलाका नेपालका धेरै बुद्धिजीवीले सौभाग्यलाई सहजै स्वीकार गरेका थिएनन्। एकथरिले भने उनलाई स्वीकार गरेका थिए। तथापि, उनको निधन (१ पुस ०६६) भएको ११ वर्षपछि हेर्दा त्यतिवेला सौभाग्यलाई स्वीकार गर्न नसकेकाहरू पनि उनले भनेको ठीकै रहेछ भन्न थालेका छन्।
उनी नेपाललाई ‘कमजारे’ राज्यका रूपमा चित्रण गर्थे। र, त्यस्तो राज्यमा कसरी सत्ता परिवर्तन कसरी हुन्छ/गराइन्छ भन्ने तर्क गर्थे। आफैँसँग उपलब्ध स्रोत र साधन परिचालन गरी राज्य नचलेकाले नेपाल कमजोर भएको उनको तर्क हुन्थ्यो।
कन्ट्रोल्ड इन्स्ट्याबिलिटी अर्थात् नियन्त्रित अस्थिरता। नेपालमा दक्षिणी छिमेकीले जुन राजनीतिक पात्रहरूमार्फत सत्ता परिवर्तन गराउँछ, त्यसलाई बुझ्न यही शब्दावली काफी छ। ठ्याक्कै यही शब्दावली प्रयोग नगरे पनि सौभाग्यको मनसाय यस्तै थियो।
सधैँ अस्थिर बनाइरहने, कुनै सत्तारुढ दलले आफ्नो स्वार्थमा काम गरेन भने तुरुन्तै दलभित्रै र बाहिर जताबाट हुन्छ, अविश्वासको प्रस्ताव ल्याई त्यसलाई फालेर आफ्नो पात्रलाई सत्ता लाने प्रवृत्ति नेपालमा देखिँदै आएको सौभाग्यको तर्क हुन्थ्यो। त्यसले गर्दा जो सत्तारुढ दल हो, उसले कहिल्यै नेपालको स्वार्थमा काम गर्न पाउँदैन भन्थे उनले।
अहिले ‘कन्ट्रोल्ड इन्स्ट्याबिलिटी’ सबैमा स्वीकार्य शब्दावली बनिसकेको छ। सन् २००६ को राजनीतिक परिवर्तनलाई अहिले फर्केर हेर्दा हामी नेपालीले स्वतःस्फूर्त आएको भन्थ्यौँ, त्यो होइन रहेछ भन्ने बुझाइ बाक्लो बन्दै गएको छ। त्यतिवेला धेरै बाह्यशक्तिको खेल रहेछ भन्ने बोध हुँदै गएको पाइन्छ।
सौभाग्यको त्यतिवेलाको एक मुख्य योगदान त्यही विषयलाई औँल्याउनुमा रह्यो। उनको लेखाइमा अहिले पनि सान्दर्भिकता यस अर्थमा छ- नेपाली हामी आफैँ एकताबद्ध हुन सकेनौँ भने बाह्यशक्तिले सधैँ खेलिरहन्छन् भन्थे उनले। आफ्नो राष्ट्रिय स्वार्थमा होइन, अरूको स्वार्थमा चल्नुपर्ने बाध्यता हुन्छ भन्ने उनको विचार थियो। आफ्नो राष्ट्रिय स्वार्थ पहिचान गरेर त्यसका लागि राजनीतिक दलबीच र सबै नेपालीबीच एउटा सहमति हुनुपर्यो, त्यही सहमतिअनुसार अगाडि बढ्नुपर्यो। नत्र बाह्य शक्तिले सधैँ हामीबीच विभाजन ल्याइरहन्छन् भन्ने उनको विचार हो। उनको यो तर्क अहिले पनि उत्तिकै सान्दर्भिक छ।
प्राज्ञिक कोणबाट उनको धेरै योगदान छ। उनको पढाइ मानवशास्त्र हो। मानवशास्त्र त्यसमा पनि ‘सोसल थट’ उनको अध्ययनको क्षेत्र हो। समाजशास्त्र र मानवशास्त्रको सीमा अलि छुट्टिँदैन, धेरै ओभरल्याप हुन्छ।
विद्यावारिधिको एउटा थेसिस माओवादी द्वन्द्वका वेला महिला आन्दोलनमा थियो, उनको। रक्सी उन्मुलनमा महिलाले गरेको विद्रोहलाई अध्ययनको क्षेत्र बनाएका थिए। तर, उनी त्यसमा मात्र केन्द्रित थिएनन्। ०६२-६३ को जनआन्दोलन कसरी गराइयो र कसरी भयो भन्नेबारे पनि लेखेका छन्।
उनी निकै अध्ययनशील र प्राज्ञिक व्यक्तित्व हुन्। मिलनसार, सरल, सबैप्रति सद्भाव भएको, आफूभन्दा सानो र नजानेको व्यक्तिलाई पनि समान व्यवहार गर्ने स्वभावका थिए, सौभाग्य। लेखाइ जति कडा भए पनि व्यक्तिगत जीवनमा अति नरम व्यक्ति थिए। जतिसुकै गम्भीर कुरा भए पनि हाँसी-हाँसी कुरा गर्थे। कसैलाई खण्डन गर्नुपर्यो भने पनि सरल तरिकाबाटै गर्थे। उनी प्राज्ञिक रूपमा भने निकै गहिरो व्यक्तित्व हुन्।
(डा. सुधीन्द्र शर्मा समाजशास्त्री हुन्।)