धरान- लौरो चिह्न लिएर स्वतन्त्र हैसियतमा चुनाव जितेका धरानका मेयर हर्क साम्पाङ निरन्तर एक्सनमा छन्।
उनले बजारमा गुणस्तरहीन वस्तु निमिट्यान्न पार्न अखाद्य वस्तुमाथि छड्के गराएका छन् भने नगर क्षेत्रका विद्यालयमा ट्राफिक नियमसम्बन्धी पढाइ थाल्ने घोषणा गरेका छन्।
नगर क्षेत्रमा बिक्री हुने हल्का पेय पदार्थमा अखाद्य वस्तु भेटिएको जनगुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमार्फत विभिन्न डिलरमा छापा मार्न लगाएका छन्।
बोटलर्स नेपाल र बरुण बेभरेजका उत्पादन बिक्री गर्ने डिलरमा गुणस्तर परीक्षणका लागि छापा मारिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुनसरीले जनाएको छ। जिल्ला सदरमुकाम इनरुवाबाट गएको कार्यालयका प्राविधिक धरान उपमहानगरका नगर प्रहरी सम्मिलित टोलीले छापा मारेको हो।
डिलरहरूबाट संकलित नमूना परीक्षणका लागि विराटनगरस्थित प्रयोगशालामा पठाइएको कार्यालयले जनाएको छ। कोकाकोला, फेन्टा, स्प्राइट, स्लाइसलगायत हल्का पेय पदार्थका नमूनाको गुणस्तर परीक्षणका लागि विराटनगर पठाइएको हो।
यस्तै, नगर प्रमुख साम्पाङले धरान उपमहानगरका विद्यालयहरूमा पाठ्यक्रममै राखेर ट्राफिक सचेतना अगाडि बढाइने घोषणा गरेका छन्। ‘धरान उपमहानगरले स्कुले पाठ्यक्रममा ट्राफिक नियम अध्यापन शुरु गर्नेछ। सबैले यसलाई प्रभावकारी बनाऔँ। सडक दुर्घटना न्यूनीकरण हाम्रो उद्देश्य रहनेछ,’ साम्पाङले आफ्नो फेसबुक पेजमा भनेका छन्।