धरानका नव निर्वाचित मेयर हर्क साम्पाङ एक्सनमा छन्। उनी कहिले पानीको मुहानमा पुगेर सरसफाइ गर्छन् त कहिले चोकमा झाडु लिएर निस्केर बढार्छन्। पछिल्लोपटक उनले अवैध उत्खननपछि तस्करी भइरहेका ढुंगा नियन्त्रणमा लिएर अनलोड गर्न लगाए।
धरान उपमहानगर–५ अँधेरी खोलामा उनी तस्करविरुद्ध एक्सनमा देखिए। केही सहयोगी र नगर प्रहरीको नेतृत्व गर्दै खोलामै पुगेका उनले ढुंगा लोड गर्दै गरेका ट्र्याक्टर नियन्त्रणमा लिए। लोड भइसकेका ढुंगा झार्न लगाए।
आफूले पहिलोपटक भेटेकाले माफी दिएको बताउँदै अवैध उत्खननमा संलग्न युवालाई चेतावनी दिँदै घर पठाए। अनि फेरि ढुंगा लिन नआउनु भन्दै चेताए।
उक्त खोलाबाट लामो समयदेखि ढुंगा, गिटी तस्करी हुने गरेको गुनासो स्थानीय बासिन्दाको थियो। यसअघि सामाजिक अभियन्ता छँदा उनीमाथि उक्त खोलामा तस्करी रोक्न पुगेका साम्पाङमाथि सांघातिक आक्रमण नै भएको थियो।
स्थानीय बासिन्दाले साम्पाङलाई आफूहरूले अवैध ढुंगा लोड गरिएका ट्र्याक्टर नियन्त्रणमा लिएर बुझाउँदा पनि प्रहरीले छाडिदिने गरेको गुनासो गरेका थिए। साम्पाङका अनुसार उक्त खोलामा ढुंगा उत्खननका लागि लगाइएको ठेक्का रद्द गरिएको छ। उनले आफ्नो कार्यकालभरि उक्त खोलामा ठेक्का नलगाउने घोषणा गरेका छन्।