काठमाडौँ । नेकपा एमालेले कुलोको समिति गठन गरेको भन्दै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्तालाई प्रवेश गराएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका १० का नेता कार्यकर्तालाई एक नक्कली समिति बनाएर एमालेले पार्टी प्रवेश गराएको हो ।
‘मिति २०७८/११/२६ गतेका दिन तुलसीपुर उपमहानगरपालिका वडा न १० राईखलियानमा कुलोको समिति गठन गर्ने भनी हामीहरुलाई बोलाइयो, त्यहाँ कुलोको समिति भनी सीताराम चौधरीको नेतृत्वमा एउटा समिति पनि निर्माण गरियो,’ चार जना स्थानीय नेताले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘तर, पछि सामाजिक सञ्जालमा एमालेको तुलसीबन्धना टोल कमिटी गठन गरिएको भनी प्रचार गरियो ।’
स्थानीय नेताहरू सीताराम चौधरी, दशिराम चौधरी, निमबहादुर चौधरी र जीतराम चौधरीले सामूहिक हस्ताक्षर गर्दै भनेका छन्, ‘हामी विगतदेखि नै माओवादी केन्द्रमा सक्रिय भएर काम गरोको र अहिले पनि माओवादी केन्द्रै रहेको कुरा जानकारी गराउँदै एमालेले गरेको भ्रमित कुकार्यको विश्वास नगर्न आग्रह गर्दछु ।’
उनीहरूले एमालेले सोझा साझालाई फकाएर थाहा नै नदिई कमिटीमा कैद गरेको भन्दै एमालेलेप्रति सबै सचेत रहन पत्रमा भनिएको छ ।
