काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आइसिसी यू-१९ पुरुष विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्ने श्रीलंकाको जिम्मेवारी खोसेको छ।
श्रीलंका क्रिकेटमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै आइसिसीले श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेसँगै आगामी जनावरी र फेब्रुअरीमा हुने विश्वकप क्रिकेट अब दक्षिण अफ्रिकामा गर्ने तय भएको हो।
आइसिसीको बोर्ड बैठकले यसअघि यू-१९ महिला विश्वकप २०२३ र यू-१९ विश्वकप २०२० आयोजना गरिसकेको दक्षिण अफ्रिकालाई सर्वसम्मत रुपमा विश्वकप आयोजनाको जिम्मेवारी दिएको हो।
यसपटकको यू-१९ विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ। विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। समूह ‘डी’ मा परेको नेपालको समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।