काठमाडौं– नेपालमा टिकटकमाथि प्रतिबन्ध लागेसँगै टिकटकको विकल्पमा शर्ट भिडिओ शेयरिङ नेपाली एप ‘रमाइलो’ सार्वजनिक भएको छ।
आइडिया जार डिजिटल कम्पनीले मङ्गलवारदेखि सञ्चालनमा ल्याएको रमाइलो एपमा भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा रहेकाे कम्पनीले जनाएकाे छ।
१३ वर्ष उमेरभन्दा माथिका नागरिकले चलाउन पाउने यस एपमा कन्टेन्ट क्रियटरलाई पनि केही समयपछि कन्टेन्ट र लोकप्रियता अनुसार निश्चित रकम दिने योजना रहेको कम्पनीले बताएको छ।
विदेशी सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन हुने भएकोले नेपाली एप नियमनमा पनि सहज हुने कम्पनीले बताएको छ। गलत प्रकारका कन्टेन्ट अपलोड गरेमा भिडिओ हटाउने, अकाउन्ट सस्पेन्ड गर्नेदेखि सधैको लागि अकाउन्ट बन्द गरिने कम्पनीले बताएको छ।
हाल गुगल प्ले स्टोरमा मात्र उपलब्ध यो एप केही दिनमै एप स्टोरमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।