काठमाडौं- ३ मंसिरमा जनकपुरबाट इलाम भ्रमणमा गएका विद्यार्थीहरू सवार बस मेची राजमार्गमा दुर्घटनामा पर्यो। त्यसमा परी ३ विद्यार्थीको मृत्यु भयो, अन्य ३४ जना घाइते भए।
त्यसको भोलिपल्ट ४ मंसिरमा सर्लाहीको हरिवन नगरपालिका-९ नोचामा गाडीले ठक्कर दिँदा एक छठ ब्रतालु महिलाको मृत्यु भयो। ५२ वर्षीया लक्ष्मी पोखरेललाई ठक्कर दिएर भाग्दै गरेको गाडी नियन्त्रण लिने क्रममा प्रहरीका हवल्दार सुबोधकुमार यादवको बायाँ खुट्टा भाँचियो। सोही दिन मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको गोइरीज्युलामा जिप दुर्घटना हुँदा २२ जना घाइते भए।
०००
६ भदौमा काठमाडौंबाट बेनी जाँदै गरेको बस धादिङमा दुर्घटनामा पर्यो। घटनामा ८ यात्रीको ज्यान गयो। धवलागिरि यातायातको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशुली नदीमा खसेको थियो।
०००
२० असोजमा दाङको तुलसीपुरबाट सल्यानको झिम्पेका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गयो। सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना६ख ५४६३ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा चालक पनि घाइते भए।
०००
७ भदौमा बाराको चुरियामाई क्षेत्रमा मध्यरातपछि एउटा बस दुर्घटनामा सात जनाको मृत्यु र डेढ दर्जन यात्रु घाइते भए। मृतकमध्ये ६ जना भारतीय र एक नेपाली थिए। बसमा सवार अधिकांश मानिस पशुपतिनाथ दर्शन गरेर जनकपुरतिर जाँदै गरेका भारतीय तीर्थयात्रु थिए। बस मूल सडकबाट झन्डै ५० मिटर तल खसेको थियो।
०००
बिहान, दिउँसो, राति जतिबेला पनि सडक दुर्घटनाका खबरले मन अत्याउने गर्छ। प्रहरी प्रधान कार्यालयको तथ्यांक केलाउँदा नेपालमा बर्सेनि २० देखि २५ हजारसम्म सवारी दुर्घटना हुन्छन्। र, बर्सेनि ती दुर्घटनामा परी औसत तीन हजारजनाले ज्यान गुमाउँछन्।
ती सवारी दुर्घटनाबाट मानिसले मात्र ज्यान गुमाउनु परेको छैन, सडक र आसपासको क्षेत्रमा हिँडिरहेका चौपायाहरू पनि मारिन्छन्।
५ वर्षमा गयो १३ हजारको ज्यान
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पाँच वर्षयता सवारी दुर्घटनामा परी १२ हजार ७९१ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष ०७५-७६ मा १३ हजार ३६६ दुर्घटना भएका थिए, जसमा २२ हजार ८७ वटा सवारी साधनको संलग्नता थियो।
त्यस वर्ष दुर्घटनामा परी २ हजार ७८९ जनाले ज्यान गुमाउनुपरेको थियो। यस्तै, ४ हजार ३७६ जना गम्भीर र १० हजार ३६० जना सामान्य घाइते भएका थिए।
महानगरीय ट्राफिक प्रहरी कार्यालयको तथ्यांक हेरौं। आर्थिक वर्ष ०७५-७६ मा काठमाडौं उपत्यकामा मात्र ८ हजार ५११ दुर्घटना भएका थिए, जसमा १५ हजार १९० सवारी साधनको संलग्नता थियो। दुर्घटनामा २५४ जनाको मृत्यु, ३१७ गम्भीर र ५ हजार ९१३ जना सामान्य घाइते भएका थिए।
कोशी प्रदेशमा आव ०७५-७६ मा १ हजार २९७ सवारी दुर्घटना भएका थिए, जसमा १ हजार ८७४ साधनको संलग्नता थियो। दुर्घटनामा ३७२ जनाको मृत्यु, ९३३ गम्भीर र १ हजार ३९१ सामान्य घाइते भएका थिए।
यस्तै, मधेश प्रदेशमा सोही वर्ष ९१४ सवारी दुर्घटना भएका थिए, जसमा १ हजार ३५२ सवारी साधनको संलग्नता थियो। त्यसमा परी ४९६ जनाको मृत्यु भएको थियो भने ६५६ गम्भीर र ६१३ जना सामान्य घाइते भएका थिए।
वागमती प्रदेशमा सोही वर्ष ७७५ सवारी दुर्घटना भएका थिए, जसमा १ हजार ९७ सवारी साधनको संलग्नता थियो। ती दुर्घटनामा ४७७ जनाले ज्यान गुमाउनु परेको थियो। यसबाट ७६२ जना गम्भीर र ९१९ जना सामान्य घाइते भएका थिए।
यस्तै, गण्डकी प्रदेशमा सोही वर्ष ४६० दुर्घटना भएका थिए, जसमा ६५३ सवारी साधनको संलग्नता थियो। ती दुर्घटनामा परी २५६ जनाले ज्यान गुमाए भने ४२८ गम्भीर र ४०४ जना सामान्य घाइते भएका थिए।
सोही वर्ष लुम्बिनी प्रदेशमा १ हजार २९ दुर्घटना भएका थिए, जसमा १ हजार ३९ सवारी साधनको संलग्नता थियो। ती दुर्घटनामा ५९२ जनाले ज्यान गुमाउनु पर्यो भने ९३३ जना गम्भीर र ७११ जना सामान्य घाइते भए।
सोही वर्ष कर्णाली प्रदेशमा १४६ दुर्घटना भए, जसमा १६६ सवारी साधन संलग्न थिए। ती दुर्घटनामा ११९ जनाको मृत्यु, १३१ गम्भीर र १६० जना साधारण घाइते भएका थिए। त्यसै वर्ष सुदूरपश्चिममा २३४ दुर्घटना भएका थिए। जसमा ३१६ सवारी साधनको संलग्नता भेटियो, जसका कारण २२३ जनाको मृत्यु भयो। दुर्घटनामा परी २१६ जना गम्भीर र २४९ जना साधरण घाइते भए। यसरी हेर्दा आव ०७५-७६ मा प्रादेशिक हिसाबले सबैभन्दा बढी सवारी दुर्घटनामा मृत्यु लुम्बिनीमा भएको थियो।
त्यसको पाँच वर्षपछि आव ०७९-८० को तथ्यांक केलाऊँ। त्यस वर्ष आव ०७५-७६ भन्दा १० हजार २३१ वटा बढी दुर्घटना भएको देखिन्छ। पाँच वर्षमा सवारी दुर्घटना कति कहालीलाग्दो गरी बढिरहेको छ भन्ने यसबाट देखिन्छ। आव ०७५-७६ मा १३ हजार ३६६ दुर्घटना भएका थिए भने आव ०७९-८० मा २३ हजार ५९७।
आव ०७९-८० मा ३७ हजार ३९२ वटा सवारी साधन दुर्घटनामा परेका थिए। यो आर्थिक वर्षमा नेपालभर सवारी दुर्घटनाका कारण २ हजार ३६८ को मृत्यु, ५ हजार ७३८ गम्भीर र २४ हजार ४८८ जना साधारण घाइते भएका थिए।
आव ०७६-७७ मा भएका २५ हजार ७८८ सवारी साधनमा परी २ हजार २५१ जनाले ज्यान गुमाउनुपरेको थियो। ०७७-७८ मा भएका २० हजार ६४० दुर्घटनामा परी २ हजार ५ सयजनाको मृत्यु भयो। यस्तै, आव ०७८-७९ मा भएका २४ हजार ५३७ दुर्घटनामा २ हजार ८८३ जनाको ज्यान गयो।
आव ०७९-८० मा काठमाडौं उपत्यकामा मात्र १० हजार ६७५ दुर्घटना भए, जसमा १९ हजार २३८ सवारी साधनको संलग्नता थियो। दुर्घटनामा १७९ को मृत्यु, २६१ गम्भीर र ८ हजार ३ सय साधारण घाइते भएका थिए।
उक्त वर्ष कोशीमा ३ हजार ५१० दुर्घटना भए, जसमा परी ४१२ जनाको मृत्यु, ८१० गम्भीर घाइते र ४ हजार ७९७ साधारण घाइते भए। मधेशमा ५ हजार ९८८ दुर्घटनामा परी ५४६ जनाको मृत्यु, २ हजार २ सय गम्भीर र ७ हजार ४७२ साधारण घाइते भए। वागमतीमा १ हजार ३६१ दुर्घटनामा २९९ को मृत्यु, ७२९ गम्भीर र २ हजार १६२ साधारण घाइते भए। गण्डकीमा ३७४ दुर्घटनामा १६५ जनाको मृत्यु, ३९३ गम्भीर र २४४ साधारण घाइते भए। लुम्बिनीमा ८९२ दुर्घटनामा ४६० जनाको मृत्यु, ८०१ गम्भीर र र ४७७ जना साधारण घाइते भए। कर्णालीमा ५४५ दुर्घटनामा १३० जनाको मृत्यु, ३३१ जना गम्भीर र ७६० साधारण घाइते भएका थिए। र, सुदूरपश्चिममा २५२ दुर्घटनामा १७७ को मृत्यु, २१३ गम्भीर र २७६ साधारण घाइते भए।
५ वर्षमा कुन प्रदेशमा कति दुर्घटना ?
पाँच वर्षको तथ्यांकलाई नियाल्दा प्रादेशिक हिसाबमा सबैभन्दा बढी सवारी दुर्घटना मधेशमा भएको देखिन्छ। र, त्यसपछि कोशी, वागमती, लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशमा दुर्घटना हुने गरेका छन्।
त्यसो त, सबैभन्दा बढी सवारी दुर्घटना वागमती प्रदेशमा हुने गर्छ। महानगरीय ट्राफिक प्रहरीले कार्यालयले उपत्यकाका तीनवटा जिल्लाको छुट्टै तथ्यांक राख्ने भएकाले प्रादेशिक आँकडामा त्यो आउँदैन। र, प्रादेशिक तथ्यांकमा वागमतीमा कम दुर्घटना देखिने गर्छ। काठमाडौं उपत्यकाभित्र मात्र पाँच वर्षयता ४९ हजार ४९५ सवारी साधन दुर्घटना भएका छन्। जसकारण ९४२ जनाको मृत्यु भएको छ।
पाँच वर्षको महानगरीय ट्राफिक प्रहरी कार्यालयको तथ्यांक केलाउँदा सातवटै प्रदेशमा भएका दुर्घटनालाई जोड्दा पनि १ हजार २९१ संख्याले बढी हुन आउँछ।
सवारी साधन दुर्घटनाकै कारण भएका मृत्युको आँकडा हेर्दा सबैभन्दा बढी लुम्बनी प्रदेशमा २ हजार ५९९, दोस्रोमा मधेशमा २ हजार ५७० र तेस्रोमा वागमतीमा १ हजार ९२८ को मृत्यु भएको देखिन्छ, यस ५ वर्षमा।
चौपाया पनि उत्तिकै मारिन्छन्
सवारी दुर्घटनामा परी मानिसको मात्र ज्यान जाने गरेको छैन। यसले चौपायाहरूलाई पनि उत्तिकै असर गरेको छ। विगत पाँच वर्षमा ९७ हजार ६९८ सवारी दुर्घटना भएका थिए, जसमा परी ५६२ चौपाया मारिउका थिए। यस्तै, १९४ चौपाया घाइते भएका थिए।
मापसेकै कारण बढी दुर्घटना
केही वर्षयता नेपालमा सवारी साधन दुर्घटना बढ्दै गएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायत बताउँछन्। उनका अनुसार यसरी दुर्घटना बढ्नुको पहिलो कारण साना गाडीको संलग्नता बढी देखिन्छ। मोटरसाइकल र स्कुटरको प्रयोग बढी हुन थालेपछि दुर्घटनाको अनुपात बढेको उनको भनाइ छ। प्रत्येक वर्ष सवारी साधन भित्रिने क्रम अथवा प्रयोगमा बढी आएकाले पनि दुर्घटना बढ्दै गएको उनी बताउँछन्।
करिब ४ प्रतिशत दुर्घटनामा लाइसेन्स नभएका मानिसहरूको संलग्नता रहेको उनको भनाइ छ। भन्छन्, ‘लाइसेन्स नभएका व्यक्तिहरूले सवारी साधन चलाइरहेको या चलाउन दिइरहेकाले पनि त्यसले दुर्घटना निम्त्याइरहेको छ।’
यसका अतिरिक्त पैदलयात्रीको लापरवाही, असुरक्षित सडक, मादक पदार्थ सेवनलगायत कारणले पनि दुर्घटना भइरहेको हुन्छन्। तर, अहिलेसम्म भएका दुर्घटनालाई अनुसन्धान गर्दा मुख्य कारण चालकको लापरवाही र त्यसमा पनि मादक पदार्थ सेवन बढी देखिने डीआईजी कडायत बताउँछन्।
सबैभन्दा कम सवारी दुर्घटना कर्णाली प्रदेशमा भएको देखिन्न्छ। अहिलेसम्म विकटकै श्रेणीमा रहिरहेको कर्णालीमा सवारी साधन नै कम गुड्ने भएकाले दुर्घटना पनि कम देखिएका उनको भनाइ छ। तथापि, कर्णालीमा एकैपटक धेरैजनाको ज्यान जाने गरी ठूलो दुर्घटना हुने गरेको छ। त्यसको मूल कारण कर्णालीको असुरक्षित सडक हो। डीआईजी कडायत भन्छन्, ‘सबैभन्दा बढी दुर्घटनाबाट मृत्यु लुम्बिनी प्रदेशमा हुने गरेको छ। लुम्बिनीमा सबैभन्दा बढी सवारी साधनको प्रयोग हुने भएकाले त्यहाँ दुर्घटनाबाट मृत्यु पनि बढी देखिन्छ।’
सुरक्षित छैनन् सडक
अझै नेपालमा सडक पूर्वाधारहरू सुरक्षित छैनन्। त्यसकारण सवारी साधन दुर्घटना प्रत्येक वर्ष बढिरहेको ट्राफिक इन्जिनियर आशिष गजुरेल बताउँछन्।
उनका अनुसार दुर्घटना बढ्नुको दोस्रो कारण हरेक सवारी साधनको पर्याप्त जाँच नहुनु हो। पूराना सवारी साधनरू धेरै गुडिरहनाले पनि त्यसले दुर्घटनाको अवस्था सिर्जना गरिरहेको छ। सडक प्रयोगकर्ता पनि अनुशासनमा नरहेको उनी बताउँछन्। भन्छन्, ‘चालकको अनुभव, दक्षता र व्यवहारमा पनि समस्या छ। त्यसकारण पनि सडक दुर्घटनाहरू घट्नुको साटो हरेक वर्ष उकालो लाग्दै गएको देख्न सकिन्छ।’
अन्य समयभन्दा दशैं, तिहारजस्ता चाडपर्वको समयमा मानिसहरूले यात्रा धेरै गर्ने गर्छन्। त्यसमाथि, भएका असुरक्षित सडकले यो समयमा बढी सवारी दुर्घटना निम्त्याइरहेको उनी बताउँछन्।
अहिले सवारी साधनका चालकले मादक पदार्थ सेवन गरे-नगरेको कडा जाँच हुने गरेको छ। तर, त्यसले मात्र दुर्घटना कम हुन्छ भन्ने हुँदैन। जबसम्म चालकले आफ्नो व्यवहार परिवर्तन गर्दैनन् र सडक संरचनाहरू सुरक्षित हुँदैन, तबसम्म सवारी दुर्घटनाका केसहरूमा अपेक्षाकृत कमी आउन नसक्ने ट्राफिक इन्जिनियर गजुरेलको भनाइ छ।
उनका अनुसार अहिले वागमती, मधेश र लुम्बिनीमा सवारी दुर्घटना बढेको देखिन्छ। यी प्रदेशमा अन्य प्रदेशभन्दा बढी सवारी साधन गुड्ने भएकाले पनि बढी दुर्घटना हुने गरेको उनको भनाइ छ। भन्छन्, ‘जहाँ कम यात्रा या सवारी साधन कम गुड्छन्, त्यहाँ कम र जहाँ बढी सवारी साधन गुड्छन्, त्यहाँ बढी दुर्घटना हुन्छन्।’
नेपालको परिप्रेक्षमा ठूलाभन्दा पनि दुई पांग्रे सवारी साधनले बढी दुर्घटना निम्त्याइरहेको उनी बताउँछन्। त्यसबाहेक क्षमताभन्दा बढी यात्रु, तीव्र गति र मादक पदार्थको सेवनले पनि दुर्घटना हुने गरेको उनको भनाइ छ।
दुर्घटना बढे पनि मृत्युदर कम
विगत पाँच वर्षको सवारी साधन दुर्घटनाको तथ्यांक केलाउँदा दुर्घटना बढेको देखाउँछ। यसरी दुर्घटना बढ्नुको कारण १ वर्षयता ट्राफिक प्रहरीले स-सानो घटनाको पनि रेकर्ड राख्ने भएकाले संख्यात्मक रूपमा दुर्घटना बढेको हुन सक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेल बताउँछन्।
उनका अनुसार पहिले सवारी दुर्घटनामा सामान्य चोटपटक लागेका व्यक्तिहरूको रेकर्ड राखिँदैनथ्यो। गम्भीर घाइते भए या मृत्यु भए मात्र रेकर्ड राख्ने चलन थियो। तर, एक वर्षयता साधारण घाइते भएका व्यक्तिहरूको रेकर्ड पनि राख्ने गरेकाले दुर्घटनाका केसहरू बढी देखिएको उनको भनाइ छ।
सवारी दुर्घटनाका केसहरू बढे पनि मृत्यु हुने संख्यामा भने कमी आएको डीआईजी पोखरेल बताउँछन्। आव ०७९-८० मा सवारी दुर्घटनामा मृत्यु हुने संख्या ०७८-७९ को भन्दा कम रहेको उनको भनाइ छ। भन्छन्, ‘असारपछि तीन महिनाको ट्रेन्ड हेर्ने हो पनि सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्यामा निकै कमी आएको छ।’
विशेषगरी, सानो दुर्घटनालाई पनि रेकर्डमा राख्न गत वैशाखदेखि अभ्यास थालिएको हो। साना दुर्घटनाको पनि रेकर्ड राख्न थाल्दा इन्स्योरेन्सका लागि सहज हुने भएकाले यो कुरामा ध्यान दिइएको उनको भनाइ छ। त्यसैले अहिले अहिले सर्वसाधारणले पनि सानै दुर्घटना भए पनि प्रहरीलाई खबर गर्ने र प्रहरीले पनि कन्ट्रोलमा टिपाउने गरेको छ।