काठमाडौं- दशैंमा खर्च जोहो गर्न साइड ट्रेकिङमा पोखरा गए, तेलबहादुर घले। १३ कात्तिकमा काठमाडौं फर्केर फेरि धर्नामा बसे। माइतीघर मण्डलामा उनी धर्ना बसेको २८ कात्तिकमा १६४ दिन बित्यो। तर, न सेनाले उनको मुद्दामा कुनै चासो दियो, न सरकारले नै पहलकदमी लियो।
२०७५ सालमा सेनाले सडक बनाउन विष्फोट गर्दा गोरखाको उत्तरी क्षेत्रस्थित धार्चे गाउँपालिकाको दोभानमा उनले सञ्चालन गरिरहेको गेस्टहाउस तहसनहस भयो। ५ वर्षदेखि उनी न्यायको खोजीमा छन्। तर, कसैले उनको कुरा सुनेको छैन।
मनास्लु हिमाल जाने बाटोमा पर्छ, दोभान। र, यो स्वदेशी-विदेशी पर्यटकको ओहोरदोहोर गर्ने केन्द्र हो। उनले त्यहाँ वर्षमा १ लाख रुपैयाँ तिर्ने शर्तमा जमिन भाडामा लिएर ४५ लाखमा ०७३ सालमा गेस्टहाउस निर्माण गरेका थिए।
४५ लाख सानो रकम थिएन। तर पनि, कमाएपछि विस्तारै तिरौंला भन्ने आँटले उनलाई हस्पिटालिटी व्यवसायमा लगायो। ४५ लाखमध्ये ९ लाख रुपैयाँ उनको आफ्नै थियो। तर, बाँकी ३६ लाख रुपैयाँ ऋण वार्षिक १८ प्रतिशत व्याज तिर्ने शर्तमा लिएका थिए।
सेनाको लापरवाहीका कारण तहसनहस भएको गेस्ट हाउसको क्षतिपूर्ति माग गर्दै तेलबहादुर १० जेठदेखि माइतीघर मण्डलामा धर्नामा छन्। तर, कसैले उनको आवाज सुन्ने ‘साहस’ गरेको छैन।
लामो समयदेखि धर्ना बसिरहँदा चिया खान पनि गोजीमा पैसा नहुँदा निकै सास्ती भोग्नुपरेको उनको भनाइ छ। यसबीचमा आफ्नो पुरानो पेशाबाट साइट ट्रेकिङ गाइडको अफर आएपछि नाइँ भन्न सकेनन्। भन्छन्, ‘३ कात्तिकसम्म धर्नामै थिए। ५ गते पोखरा साइडमा गाइडको लागि अफर आयो। र, उतै गएँ।’
ट्रेकिङ सकिनेबित्तिकै उनी काठमाडौं फर्के। र, भोलिपल्टदेखि धर्नालाई निरन्तता दिए। पाँच महिना बितिसक्दा पनि कतैबाट सुनुवाइ नभएकामा उनी दुःखी छन्।
घटना के हो ?
६५ वर्षका तेलबहादुर गोरखाको बारपाक सुलिकोट गाउँपालिका-३ का स्थायी बासिन्दा हुन्। जीवनको धेरै वर्ष ट्रेकिङ गाइड बनेर बिताएका उनी उमेर बढ्दै गर्दा उकालोओरालो गर्न असज हुन थालेपछि घरमै बस्न थाले। ट्रेकिङ गाइड रहँदा उनले पर्यटकका लागि खाना बनाउने काम पनि सिकेका थिए।
गाइडको काम छाडेपछि उनलाई खर्चको जोहो गर्न सकस हुन थाल्यो। त्यसैले, होटेल व्यवसाय अंगालेर परिवारको आवश्यकता पूरा गर्ने सोच बनाए। र, गण्डकी गाउँपालिकाको ग्याप भन्ने गाउँमा ०६६ देखि ०७१ सम्म ‘बुढीगण्डकी गेस्टहाउस सञ्चालन’ गरे। त्यो समयमा वर्षको तीन लाख तिरेर होटेलबाट राम्रै मुनाफा कमाउन सफल भए पनि।
गोरखामा पर्यटक आउने समय असोज दोस्रो सातादेखि मंसिर अन्तिमसम्म हो। त्यो समयमा गेस्टहाउसबाट एक सिजनमा १५ लाख रुपैयाँसम्मको कमाइ हुन्थ्यो। कमाइ राम्रै हुन थालेपछि चारजनाको परिवारले निकै सुखमय जीवन बिताइरहेको थियो।
उनले गेस्टहाउसबाट मुनाफा कमाइरहँदा अन्य स्थानीय होटल व्यवसायीहरू आफ्नो व्यवसाय ओझेलमा पर्यो भन्दै उनलाई आफ्नो ठाउँबाट छोडेर गइदिनुपर्यो भन्न थाले। त्यसकारण ०७१ सालमा उनी गेस्टहाउस बन्द गरेर दुई वर्ष घरमै बसे।
दुई वर्ष न ट्रेकिङ न त गेस्टहाउस। त्यसैले फेरि घरखर्च चलाउन मुस्किल पर्न थाल्यो। गोरखाकै मनास्लु हिमालमा जहिल्यै स्वदेशी-विदेशी पर्यटकको भीड रहन्छ। तर, हिमाल जाने बाटोमा न कुनै होटल न कुनै गेस्टहाउस नै। ट्रेकिङ गाइड भएको नाताले यसको अभाव उनले महशुस गरेका थिए। त्यसकारण मनास्लु हिमालको फेदमा रहेको दोभान भन्ने ठाउँमा वर्षमा १ लाख भाडा तिर्ने शर्तमा जमिन लिई ४५ लाख लागतमा फेरि गेस्टहाउस खोले।
त्यहाँको गेस्टहाउसबाट पनि उनले निकै राम्रो कमाइ गर्न थाले। एक मात्रै गेस्टहाउस भएकाले पर्यटकको पनि भिडभाड हुन थाल्यो। गेस्टहाउसबाटै एक सिजनमा ११ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भए। अर्को सिजनमा पनि १२-१५ लाखसम्मको आम्दानी गर्ने सोच बनाएका तेलबहादुरको सपना तब चकनाचुर भयो, जब ०७५ सालमा सेनाले गोरखाको उत्तरी भेग जोड्ने सडक निर्माणको जिम्मा पायो।
उनको गेस्टहाउस छेउमै सेनाले निर्माण गर्न लागेको सडक पर्न गयो। अफसोस, उनकै गेस्टहाउस छेउमा रहेको चट्टान न मानिस न त डोजरले फोर्न सके। त्यसका लागि विष्फोट मात्र विकल्प बन्यो।
असोज लागिसकेकाले मनास्लु चढ्ने पर्यटक पनि भित्रिने तरखर शुरु हुनै लाग्दा १४ असोज ०७५ मा सेनाले विष्फोट गरेरै छोड्यो। र, उनले ४६ लाख लागतमा निर्माण गरेको गेस्टहाउस पलभरमै तहसनहस भयो। विष्फोट गरिएको तीन दिन पछिसम्म मात्र सडक निर्माणको काम भयो। त्यसपछि दशैं, तिहार मनाउन सबै कामदार आ-आफ्नो घरतिर लागे।
उनका अनुसार त्यो समयमा विष्फोट गर्नु उचित थिएन। तर, गेस्टहाउस पुग्न पाँच किलोमिटर पर नै सडक निर्माण कार्य भइरहँदा मेलो छोडी अगाडि नै गेस्टहाउस छेउमा रहेको चट्टान फोर्न विष्फोट गराइएको थियो। आफूले त्यसविरुद्ध आवाजसमेत उठाएको उनी बताउँछन्। भन्छन्, ‘असोजदेखि मंसिरसम्म पर्यटक आउने भएकाले यो एक सिजन गेस्टहाउस चलाउन दिनुपर्यो भनेर सेनासँग बिन्ती बिसाएको थिएँ। आर्मीको काम हो, जे गर्न पनि पाउँछ र काम एक दिन पनि रोक्न मिल्दैन भन्ने प्रतिक्रिया आएपछि मेरो केही सीप लागेन।’
सेनाको विष्फोटले गेस्टहाउस नै तहसनहस भएपछि सडक खन्ने जिम्मा पाएका सेनाका तत्कालीन मेजर निशान्त पण्डितलाई क्षतिपूर्तिका लागि हारगुहार लगाएको उनको भनाइ छ। तर, मेजर पण्डित देखे-सुनेर पनि अन्जान बने।
१९ भदौ ०७६ मा मेजर पण्डितले सडकको बजेटमा ८ करोड भ्रष्टाचार गरेको अभियोगमा कारवाहीका लागि काठमाडौंस्थित जंगीअड्डामा तानियो। त्यसपछि सडक निर्माण ठप्प भयो। उनी भन्छन्, ‘त्यो समयमा मलाई एक सिजन काम गर्न दिनुहोस् भन्दा मान्नु भएन। पछि ६ महिनासम्म किन काम भएन भनेर सेनालाई प्रश्न गर्दा यस्तो कुरा हामीसँग नगर्नुहोस्, सम्बन्धित मान्छे हेडक्वार्टरमा बन्दी छ भन्ने कुरा गरेका थिए।’
६ महिनापछि मेजर पण्डित सेनाको हिरासतबाट छुटे। र, छुटेपछि तीन महिनाभित्र क्षतिपूर्ति दिलाइदिने आश्वासन पनि दिएका थिए। तर, ६ महिना भइसक्दा पनि उनले वास्ता गरेनन्।
तेलबहादुरका अनुसार क्षतिपूर्ति माग गर्दै उनी असोज ०७७ सम्म गाउँपालिकामा धाए। तर, पालिकाबाट जहिले बाटो पूरा बन्छ, तब मात्र क्षतिपूर्तिको प्रक्रिया अघि बढाउन सकिन्छ, अहिलेका लागि पालिकाले सिफारिस दिनबाहेक केही गर्न सक्दैन भन्ने जवाफ पाए। त्यसपछि पालिका र वडाको सिफारिस लिएर उनी जिल्ला प्रशासन कार्यालय पुगे। भन्छन्, ‘प्रशासन कार्यालयले कि सेनासँगै मिलाउनुहोस्, कि त केन्द्रमै जानुहोस् भन्दै निवेदन पनि लिन मानेन।’
उनले केही सीप लाग्छ कि भनेर पत्रकार सम्मेलन पनि गरे। त्यसको पर्सिपल्ट सेनाका नयाँ मेजर विनोद भट्टराईले पत्रकार सम्मेलन गरेर किन सेनाको बदनामी गरेको भन्दै धम्की दिए। आफ्नो बाध्यता सुनाएर अदालत जाने कुरा गरेपछि नयाँ मेजर भट्टराईले ‘अदालत गए राम्रो हुने छैन, बरु क्षतिपूर्तिको प्रक्रिया अघि बढाउने छु’ भनेको उनी बताउँछन्।
२० असार ०७८ सालमा तेलबहादुरले १३ लाख ८२ हजार क्षतिपूर्ति सेनाबाट पाए। उक्त रकम निकै कम थियो। क्षतिपूर्ति कम भयो, लिन्न भन्दा लिने भए लिनु, नभए यो पनि पाइँदैन भनेर भट्टराईले उनलाई धम्क्याए।
हस्ताक्षर गर्न नमान्दा ज्यान मार्ने धम्की
क्षतिपूर्तिको रकम लिने समयमा तेलबहादुर कोरोना संक्रमित थिए। त्यसकारण त्यो समयमा रकम लेनदेन बैंक एकाउन्टबाटै भएको थियो। तर, केही दिनपछि फेरि मेजर भट्टराईले उनलाई फोन गरेर हस्ताक्षर गर्न काठमाडौंमा बोलाए।
२९ असार ०७८ मा हस्ताक्षर गराउन मेजर भट्टराई आएनन्, सेनाका अर्का कर्मचारीलाई पठाए। उनले हस्ताक्षर गर्ने कागजमा गाउँपालिकाले गरेको मूल्यांकनअनुसार क्षतिपूर्ति दिइएको छ भन्ने लेखिएको थियो। तर, त्यसमा गाउँपालिकाको छाप र पदाधिकारीको हस्ताक्षर थिएन। र, यदि केहीगरी होटल सञ्चालन भयो र सडक निर्माणकै क्रममा फेरि विष्फोट गर्दा तहसनहस हुन गयो भने आफैं जिम्मेवार हुनुपर्नेछ भन्ने लेखिएकाले आफूले हस्ताक्षर गर्न नमानेको उनको भनाइ छ। भन्छन्, ‘हस्ताक्षर गर्न नमान्दा आएको सेनाले पेस्तोल निकाल्दै ज्यान मार्ने धम्की दिएपछि डराउँदै हस्ताक्षर गरें।’
सरोकार पक्षको ध्यानाकर्षण भएकै छैन
सेना पीडित तेलबहादुरले धर्ना बसेयता उनकै छेउछाउमा आमरण अनसन र धर्ना शुरु गरेका थुप्रैले सरकार र सरोकार पक्षहरूबाट साथ र सहयोग पाए। तर, एक्लै धर्नामा ५ महिनादेखि बसिरहेका उनलाई कहींबाट सहयोग मिलेको छैन। सामाकोसीमा श्रीमतीसँग कोठामा बस्ने उनी हरेक बिहान १० बजे माइतीघर मण्डला पुग्छन्। दिनभर त्यहीं बसेर साँझपख कोठा फर्किन्छन्।
बर्खामा पानीमा भिज्दै धर्ना बसेका उनी हिउँद लाग्दा पनि कतैबाट आश नपलाएको बताउँछन्। कहीं कतैबाट सीप नलागेपछि २९ भदौमा राष्ट्रिय मानव अधिकार आयोग पुगेर निवदेन पनि नदिएका होइनन्। त्यसपछि आयोग जान पाएका छैनन्, आयोगले पनि कुनै चासो दिएको छैन। आयोगका कुनै पदाधिकारी र कर्मचारी उनलाई खोज्दै आएका पनि छैनन्।
३० भदौमै उनले जंगीअड्डामा पनि क्षतिपूर्तिका लागि निवेदन दिएका थिए। जंगीअड्डाले पनि केही प्रतिक्रिया दिएको छैन।
उनले धर्ना शुरु गरेको १० दिनपछि २३ जेठमा उपप्रधान तथा गृहमन्त्री नाराणकाजी श्रेष्ठ माइतीघर मण्डलामा आएका थिए। त्यो समयमा तेलबहादुरले पनि आफ्नो समस्या उनलाई बताएका थिए। मन्त्री श्रेष्ठले रक्षा मन्त्रालयमा बुझ्दा आर्मीले २३ लाख क्षतिपूर्ति दिइसकेको कुरा सार्वजनिक भएको थियो। २३ लाख भनिएको क्षतिपूर्तिको रकम ९ लाख १८ हजार रुपैयाँ कता गयो, कसले खायो यसबारे छानविन हुनुपर्ने उनको माग छ। किनकि, उनलाई सेनाले बैंकमा १३ लाख ८२ हजार रुपैयाँ मात्र जम्मा गराएको थियो। यसबारे बुझौंला भनेर हिँडेका गृहमन्त्री श्रेष्ठको नाकमुख त्यसयता तेलबहादुरले देख्न पाएका छैनन्। उनले के बुझे भनेर पनि केही खबर पठाएका छैनन्।
तेलबहादुरका अनुसार ०७९-८० को जग्गाको भाडा, व्याजदर, ऋण गरेर अझै ३४ लाख रुपैयाँ तिर्न बाँकी छ। अब सेनाले क्षतिपूर्ति दियो भने मात्र ऋण चुक्ता हुने उनी बताउँछन्। भन्छन्, ‘ऋणको चिन्ताले श्रीमती डिप्रेसनमा गइसकिन्, अब यही डरले छोरा पनि डिप्रेसनमा जाने हो कि भन्ने पिर छ।’