नातिबाट सताइएका
हजुरबाको रुवाबासी छ
हजुरबाले देश लुटे
विदेशमा लगानी गरे भनी
नातिले आकाश-जमिन एक गरेका छन्
नाति कहिले पूर्व गएर कराउँछन्
कहिले पश्चिम
त्यतिले पनि नपुगी
प्लेन चढी विदेश गएर पनि
कराउन छोड्दैनन्
नाति जति कराउँछन्
हजुरबा त्यति डराउँछन्
न करा चुप लाग्
यी तिम्रा हजुरबा मात्रै होइनन्
राष्ट्रिय बा पनि हुन् भन्दै
हजुरबाका सेना तैयार छ
नातिलाई तह लाउन
पहिला नातिलाई पुलपुल्यायौ
अहिले आएर के को रुवाबासी
नातिको इच्छा पुर्याउन सकेनौ कि
अब आफ्नै प्यारो नातिको
गाली सुनी बस कठै बड्डाउ
बाजे भएर नातिसँग डराउने हो
गल्ती गरेका छौ कि बड्डाउ
गलत छैनौ भने
जिम्वाल नै गुहार्नुपर्ने
के को डर बड्डाउ
हजुरबाका दौंतरीका परिवार पनि
डराएर बसेका छन्
कतै नातिले आफ्नो घरमा पनि
झोस्ने हो कि भनेर
आफू सही हो भने डराउने किन
गल्ती गरेका छौ भने कराउने कि