भक्तपुरमा माटोका भाँडा बनाउनेहरूलाई अहिले कामको चटारो छ। उनीहरू वर्षभरि माटोका भाँडा बनाउँछन्। र, त्यसैबाट गुजारा चलाउँछन्। यो सिजन तिहारको हो- त्यसैले कलश, पाला र दियो बनाउन अति व्यस्त छन्।
काठमाडौं- भक्तपुर नगरपालिका-४ का गणेशकुमार प्रजापतीलाई अहिले सास फेर्ने फुर्सद छैन। तिहार नजिकिँदै गर्दा त्यसका लागि आवश्यक माटोको पाला, कलश र दियो बनाउन व्यस्त छन्, उनी।
उनी मात्र होइन, भक्तपुरमा माटोका भाँडा बनाउने व्यवसायीहरूलाई अहिले कामको चटारो छ। उनीहरू वर्षभरि माटोका भाँडा बनाउँछन्। र, त्यसैबाट गुजारा चलाउँछन्। यो सिजन तिहारको भएकाले यतिखेर कलश, पाला र दियो बनाउन अति व्यस्त छन्।
व्यवसायी प्रजापती दशैंमा कलश बनाउन व्यस्त थिए। उनलाई अहिले साहुले ११ हजार पाला र १७ हजार दियोको अर्डर दिएका छन्। त्यसैले उनको व्यस्तताको कुनै सीमा छैन।
माटोका भाँडा बनाउनु गणेशको पुर्ख्यौली पेशा हो। बाजेले उनका बुवा गणेशबहादुर र बुवाले उनलाई यो सीप हस्तान्तरण गरे। ९ वर्षको हुँदा सिकेको सीपलाई उनले ३४ वर्षदेखि निरन्तरता दिएका छन्। र, यसैलाई आम्दानीको स्रोत बनाएका छन्। अनि आफ्ना १७ वर्षे छोरा दिनेशलाई पनि यही सीप सिकाएका छन्। अर्थात्, उनको परिवारमा चौथो पुस्ता पनि यही पेशामा आबद्ध भएको छ।

भक्तपुरमै जन्मेका गणेश सानो छँदा लेखपढ गर्ने चलन खासै थिएन। घरको आर्थिक अवस्थाका कारण पनि उनले पढ्न पाएनन्। कक्षा-४ पछि पढाइ छोडे।
उनका बुवाले घरमै माटोका भाँडा बनाउँथे। र, तिनै भाँडा बेचेर घरखर्च चलाउँथे। पढाइ छोडेपछि उनले पनि माटोका भाँडा बनाउन बुवालाई सघाउन थाले। सघाउँदा-सघाउँदै त्यसैमा अभ्यस्त पनि भए।
गणेशकुमारले माटोका भाँडा बनाउन थालेको ३४ वर्ष पूरा भयो। माटोका भाँडाबाट घरखर्च चलाउन मुश्किल हुन थालेपछि केही वर्षअघि उनले कृषि पेशा पनि अंगाले। तर, पुर्ख्यौली पेशालाई चटक्कै छाड्न सकेनन्। खेतीपातीमै रहँदा उनी फुर्सद मिल्यो कि उनी माटोका भाँडा बनाउन थालिहाल्थे।
विस्तारै माटोका भाँडाको माग बढ्न थालेपछि २० वर्षसम्म निरन्तरता दिएको कृषि पेशालाई चटक्कै छाडेर उनी पुरानै पेशामा फर्के । अहिले यसैबाट ६ जनाको परिवार धानिएको छ। र, छोरा-छोरीलाई बोर्डिङ स्कुलमा पढाइरहेका छन्।
उनी अहिले पनि १२ वैशाख ०७२ को भूकम्पले क्षति पुर्याएकै घरमा बसिरहेका छन्। घरबाहिर माटोका भाँडा बनाउँछन्। उनलाई श्रीमती, छोरा र छोरीले पनि सघाउँछन्। उनी भाँडा मात्र बनाउँदैनन्, इच्छुकलाई घरमै बोलाएर सीप पनि सिकाउँछन्।
तिहारका लागि उनीसँग पाला र दियोको प्रशस्त अर्डर आएको छ। तिनै अर्डर पूरा गर्न व्यस्त छ अहिले। दैनिक ७ सयको हाराहारीमा पाला बनाइरहेका छन् उनी।
‘व्यापारीहरूले ११ हजार पाला र १७ हजार दियोको अर्डर दिएका छन्, त्यसैले अहिले एकछिन पनि फुर्सद छैन,’ भन्छन्, ‘होलसेलमा बिक्री गर्नु परे एउटा पाला १० रुपैयाँका दरले बिक्री गर्छु। सानो दियोको होलसेलमा २ रुपैयाँ दाम राखेको छु।’
अहिले त उनी तिहारका सामग्री बनाउन व्यस्त छन्। अन्य समयमा खुत्रुके र गमला पनि बनाउँछन्। पछिल्ला दिनमा भने उनले माटो पाउन छाडेका छन्, भक्तपुरमै। किनकि, काठमाडौं उपत्यकाका जमिन धमाधम घडेरीमा परिणत भइरहेका छन्। र, उनीहरूले माटो ल्याउने क्षेत्रमा पनि प्लटिङ भइरहेको छ। धमाधम घर बनिरहेका छन्। अनि माटो कहाँबाट पाउनु ? विगतमा कसैलाई शुल्क नतिरी उनीहरूले सहजै माटो पाउँथे। अहिले भने एक ट्रली माटो किन्न ८ हजार रुपैयाँ तिर्नुपर्छ। त्यो पनि गुणस्तरीय हुँदैन। माटोका भाँडा बिक्री गरेर मासिक ६० देखि ७० हजार रुपैयाँ आर्जन गर्छन्, गणेशकुमारले।
०००
उनीजस्तै भक्तपुर-४ कै रोशन प्रजापतीले पनि माटोका भाँडा बनाउन थालेको ३५ वर्ष पूरा भयो। उनको पनि यो पुर्ख्यौली पेशा हो। बाजे डुकुमान र बुवा माइला प्रजापतीले पनि माटोका भाँडा बनाएरै गुजारा गर्थे। बुवाबाटै उनले पनि यो सीप सिके। र, त्यसैलाई आम्दानीको स्रोत बनाए।
पाँच वर्ष अघिसम्म उनले भक्तपुर नगरपालिकाभित्रबाट निःशुल्क माटो ल्याउँथे। त्यो समयमा ढुक्क भएर माटो ल्याउन पाउँदा निकै सहज हुने उनको भनाइ छ। तर, जमिन घडेरीका रूपमा प्लटिङ हुन थालेपछि उनीहरूलाई असहज भएको छ। अहिले व्यापारीहरूबाट माटो खरिद गरी भाँडा बनाउनु परेको छ। भाँडा बनाउन चिम्ट्याइलो माटो आवश्यक पर्छ।
रोशनलाई यो पेशामा स्नातक पढ्ने छोरा प्रतीक र श्रीमती उम्मेश्वरीले पनि सघाउँछन्। त्यसैले उनले कामदार राख्नु परेको छैन। व्यापारीहरूको अर्डरअनुसार भाँडा बनाउने भएकाले उनलाई बजारको चिन्ता छैन। भाँडा तयार हुनेबित्तिकै व्यापारीहरू लिन घरमै पुग्छन्।
रोशनले वर्षभरि एकै किसिमका भाँडा बनाउँदैनन्। सिजनअनुसार दशैंमा कलश, तिहारमा पाला र अन्य समयमा खुत्रुके बनाउँछन्। दैनिक ठूलो पाला ५ सय र सानो एक हजारसम्म बनाउँछन् उनले।
उनका अनुसार बनेको पाला सुक्न एक दिनभर लाग्छ। त्यसपछि त्यसमा रंग लगाइन्छ। केही पालालाई भट्टीमा पनि पकाइन्छ। वर्षभर कति आम्दानी हुन्छ भन्ने लेखाजोखा उनले राखेका छैनन्। भन्छन्, ‘हिसाब किताब राख्ने गरेको छैन। तर, ७ जनाको परिवारको खर्च र दुई सन्तानको पढाइको जोहो सहजै भइरहेको छ।’
०००
यस्तै, रञ्जना प्रजापती पनि भक्तपुर नगरपालिकाकै स्थायी बसिन्दा हुन्। यतिखेर उनी पनि माटोका पाला बनाउन निकै व्यस्त छिन्। ४२ वर्षीया रञ्जनाले माटोका भाँडा बनाउन थालेको धेरै वर्ष भएको छैन। ५ वर्षयता भने उनी यही पेशामा छिन्। ससुरा नुक्षकुमार प्रजापतिले सिकाएको सीपलाई उनले आम्दानीको स्रोत बनाएकी हुन्।
माटोका भाँडा बनाउन उनी र उनका श्रीमान सूर्य वर्षभरि खटिन्छन्। रञ्जनालाई तिहारका लागि ८ हजार पाला र ११ हजार सानो दियोको अर्डर आएको छ। अर्डर पूरा गर्न उनीहरूलाई भ्याइनभ्याई छ।
रञ्जनाको परिवारको पनि यो पुर्ख्यौली पेशा हो। उनका श्रीमानका बुवा र बाजेले यही पेशा अंगालेका थिए। त्यसपछि उनका श्रीमानले यसलाई निरन्तरता दिए। यो व्यवसायबाट राम्रो आम्दानी नहुन थालेपछि केही वर्षअघि चटक्कै छोडेर कृषि पेशामा पनि लागे। फेरि बजारमा माटोका भाँडाको माग बढ्न थालेपछि ०७४ सालमा यतै फर्किए।
तीन सन्तान र सासु-ससुरा गरी उनको ७ जनाको परिवार छ। यही पेशाबाटै उनीहरू घर व्यवहार चलाइरहेका छन्।
उनले कलश र दियोबाहेक गमला, खुत्रुके र स-साना मूर्ति पनि बनाउँछिन्। उनको पसलमा राखिएका मूर्तिहरूको मूल्य १०० देखि ५ सय रुपैयाँसम्म पर्छ। आफूले बनाएका भाँडाहरूको मूल्य पनि समयअनुसार फरक पर्ने उनी बताउँछिन्। भन्छिन्, ‘बजार चलेको समयमा भाउ बढी हुन्छ। तर, कहिलेकाहीं बजार राम्रो चल्दैन। त्यो अवस्थामा सस्तोमा पनि भाँडा बिक्री गर्नुपर्छ।’
उनका ससुरा नुक्षले भक्तपुर आसपासबाटै माटो ल्याई भाँडा बनाउँथे। अहिले रञ्जनाले भने व्यापारीबाटै १० किलो माटोलाई ८० देखि १०० रुपैयाँसम्म तिर्नुपर्छ। भन्छिन्, ‘पहिले माटो खोज्दै जानुपर्थ्यो। अहिले घरमै ल्याइदिन्छन् तर पैसा तिर्नुपर्छ।’