काठमाडौं- दशैं सकिएर चारैतिर तिहारको रौनक छाइरहँदा निर्मलादेवी साहको मुहारमा भने कुनै किसिमको उमंग छैन। महान पर्व दशैंमा माइतीघर मण्डलामै धर्ना बसी छोरीको शोकमै बिताएकी उनी तिहार आइसक्दा पनि यतै छिन्।
हरेक दिन झिनो आश मनमा राखेर निर्मलादेवीको बिहानी हुन्छ। आज त कहींबाट पहल पक्कै हुन्छ र मृतक छोरीले न्याय पाउँछिन् भन्ने भ्रम पाल्दै उनी बिहानीलाई स्वागत गर्छिन्। तर, घाम डुब्नै लाग्दा उनको मुहार फेरि निराशाको बादलले छपक्कै छोप्छ।
उसो त, उनको भोक-निद्रा हराएको महिनौं बित्यो। छोरी आरतीको मृत्युपछि उनलाई न राम्रोसँग खाना रुचेको, न त उनी राम्रोसँग निदाउनै सकेकी छन्।
कहिल्यै काठमाडौं नआएकी उनी मृतक छोरीको आत्माले शान्ति पाओस् भनी विगत १४५ दिनदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा धर्नामा छिन्। तर, उनले न्याय पाउने कुनै संकेत देखिएको छैन। सरकारी निकायको रवैया हेर्दा उनले न्याय पाउने आशा नै देखिँदैन।
धर्नामा निर्मलादेवी मात्र बसेकी छैनन्। उनका श्रीमान् विनोदप्रसाद साह, छोरा प्रेमधिरज साह र छोरी मनिषा साह पनि सँगै छन्। वर्षायाममा सडकमै भिज्दै धर्नामा बसेका उनीहरू जाडो लागिसक्दा न्याय नपाए बाटोमै रात कसरी कटाउने हो भन्ने पिरमा छन्। दिनभर सडकमै धर्ना बसेर दिन काट्ने निर्मलाको चार जनाको परिवारको रात सडक छेउमा टाँगिएको पालमा कट्छ।
के हो घटना ?
धनुषाकी आरती साह निर्मलादेवी र विनोदकी जेठी छोरी थिइन्। २९ असार ०७८ मा आरतीको जनकपुरका इन्जिनियर भनिएका मोतीबाबु साहसँग धुमधामसँग मागी विवाह भएको थियो। विवाहको केही दिनसम्म आरतीको वैवाहिक सम्बन्ध राम्रो भए पनि विस्तारै दरार आउन थाल्यो। उनको माइती पक्षका अनुसार आरतीले पढी-लेखी जागिर गर्ने सपना सजाएकी थिइन्, जुन विवाहपछि पूरा गर्न असम्भव भयो।
विवाहपछि उनी घरधन्दामै व्यस्त रहन थालिन्। बुहारी भएकाले उनलाई हरेक कुरामा रोकटोक लगाउन थालियो। बिहेमा दाइजो कम ल्याएको भन्दै सासू-ससुरा र देवरले हरेक कुरामा घोचपेच गर्नु त सामान्य नै थियो, त्यही बहानामा उनका श्रीमान् मोतीबाबुले पनि रक्सी खाएर हात उठाउन थाले।
जब अत्याचार सहन गाह्रो हुन्थ्यो, उनी पीडा कम गर्न माइतीघर पुग्थिन्। र, बाबु-आमा निर्मला र विनोदले सम्झाइ-बुझाइ घर पठाउँथे।
आरतीको परिवारले विवाहपछि फेरि मोटरसाइकल र दराजको माग गर्न थालेका थिए। नयाँ माग आएको विषय उनले बाबु-आमासँग पनि राखेकी थिइन्। बिहेमा ऋण जोहो गरी २५ लाख खर्च गरेका विनोदसँग आरतीको परिवारलाई फेरि मोटरसाइकल र दराज दिन सक्ने अवस्था थिएन।
दाइजोको निहुँमा श्रीमानबाट कुटिएकी आरती २० वैशाखमा पनि माइत आएकी थिइन्। केही दिन माइतीमै बसेपछि निर्मलाले उनलाई सम्झाइ-बुझाइ गरेकी थिइन। २६ वैशाखमा श्रीमान् मोतीबाबु लिन आएपछि उनी घर फर्केकी थिइन्।
७ जेठको साँझपख आरती सिकिस्त बिरामी भएको खबर उनको माइतीपक्षले पायो। के भएको रहेछ भनेर बुझ्न जाने क्रममा अस्पतालमा आरती मृत अवस्थामा फेला परिन्। उनको घर पक्षको दाबीअनुसार आरतीले आत्महत्या गरेकी थिइन्। तर, उनको माइती पक्षले त्यसलाई विश्वास गर्न सकेन। किनभने, आरतीको शरीर र हातखुट्टामा नीलडामहरू थिए।
पोस्टमार्टम रिपोर्टमा पनि आरतीको मृत्यु २४ देखि ३६ घण्टा पहिले भएको पुष्टि भएको थियो। त्यसकारण माइती पक्षले आरतीको परिवारविरुद्ध हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय, धनुषामा ८ जेठमा जाहेरी दर्ता गरायो।
शुरुमा त प्रहरीले उनीहरूको जाहेरी लिन मानेको थिएन। आरतीको शव बाटोमै राखेर धर्ना बसेपछि मात्रै राति ८ बजे जाहेरी दर्ता गरिएको थियो। त्यसपछि प्रहरीले आरतीका श्रीमान् र ससुरालाई पक्राउ गर्यो।
आरतीको मृत्यु भएको २२ दिनपछि उक्त मुद्दा जिल्ला अदालत धनुषामा दर्ता भयो। तर, यो २२ दिनबीचमा कहीं कतैबाट घटनाबारे सोधखोज गर्दै माइती पक्षको बयान लिइएन।
३२ जेठमा जिल्ला प्रहरी, धनुषाबाट माइती पक्षको बयान चाहियो भन्दै फोन आयो। विनोदप्रसाद, निर्मलादेवी, छोरा प्रेम, छोरी मनिष र विनोदप्रसादका साला सन्तोषकुमार साह बयान दिन तुरुन्तै प्रहरी कार्यालय पुगे। त्यतिन्जेल कहीं कतैबाट बयान दिन नबोलाइएका उनीहरू आफ्नो कुरा राख्न पाइने भयो भन्दै हतारिँदै प्रहरी कार्यालय पुगेका थिए।
बयान दिन सबैभन्दा पहिले निर्मलादेवीलाई नै बोलाइयो। उनले आफ्नै मैथिली भाषामा बयान दिइन् पनि। उनको बयान लेखिँदा नेपालीमा लेखिएको थियो। र, उनलाई बयान नेपालीमा सुनाइयो। निर्मलादेवी नेपाली भाषाबारे अनभिज्ञ थिइन्। त्यसकारण आफूले दिएको बयानलाई मैथिली भाषामा भनिदिन या परिवारको कुनै सदस्यसामु सुनाइदिन आग्रह गरिन्।
निर्मलाको आग्रहअनुसार उनका भाइ सन्तोषकुमारलाई बोलाइयो र पढ्न बयानको एक प्रति उनको हातमा थमाइयो। बयान पत्रमा आरतीले आफैं फाँसी लगाएकी हुन् भन्ने लेखिएको थियो। त्यो आफूले त्यस्तो नबताएको निर्मलादेवीले प्रष्ट्याइन्। तर, प्रहरीले उनलाई हस्ताक्षर गर्न धम्की दिन थाल्यो।
माइती पक्षले हस्ताक्षर गर्न नमान्दा प्रहरीहरूले उल्टै उनीहरू माथि हातपात गर्न थाले। कुट्दा-कुट्दा आरतीका दाइ प्रेम बेहोश नै भए। त्यति मात्र होइन, कुटेको भिडियो बनाउन खोज्दा मनिषा (आरतीकी बहिनी) लाई पनि कुटियो। र, आमा र बहिनी एक कोठामा, बुबा, मामा र छोरालाई अलग-अलल कोठामा थुनियो। विनोदप्रसादका अनुसार प्रेम बेहोश हुँदा प्रहरीले होशमा ल्याउन मोजासमेत सुँघाएका थिए।
जिल्लास्तरमै राम्रोसँग घटनाको छानविन नभएपछि आरतीका मामा सन्तोष गम्भीर अनुसन्धान गराइदिन माग गर्दै १५ जेठमा काठमाडौं आए। र, राष्ट्रिय महिला आयोग, मानव अधिकार आयोग, मधेशी आयोग र गृह मन्त्रालयमा निवेदन दिए। त्यसको सुइँको जिल्ला प्रहरी, धनुषाका उच्च अधिकारीले पाइसकेका थिए। सोह कारण प्रहरीले आफ्नो सम्पूर्ण परिवारमाथि अत्याचार गरेको विनोदप्रसाद बताउँछन्।
भन्छन्, ‘मध्यरातमा मलाई, छोरी अनि श्रीमतीलाई थुनाबाट मुक्त गरे पनि सालो सन्तोष र छोरालाई भने छोडेका थिएनन्। त्यसपछि एसपी विश्वराज खड्काले गाडी पार्किङ गर्ने ठाउँमा बोलाएर अब सीआईबी, मानव अधिकार आयोगलगायत ठाउँमा जादैनौं भनी खुट्टा ढोग्नसमेत लगाएका थिए। र, धम्क्याउँदै बयानमा हस्ताक्षर पनि गर्न लगाए।’
एउटी छोरीको त ज्यान गइसकेको थियो। भएका दुई सन्तानलाई सुरक्षित राख्न त्यो समयमा हस्ताक्षर गर्नुबाहेक आफूसँग अन्य विकल्प नरहेको उनी बताउँछन्।
प्रहरी हिरासतमा चरम यातना भोगेर थुनाबाट छुटेपछि राति नै अस्पताल गए। त्यो रात अस्पतालमै बसेर अर्को बिहानै (१ असारमा) विनोद स-परिवार घर नगई न्याय खोज्दै सोझै काठमाडौं आई धर्नामा बसे।
गृह मन्त्रालयबाट पनि पाएनन् न्याय
विनोदका अनुसार न्यायका लागि उनले एकपटक गृहमन्त्री र दुईपटक मन्त्रालयकै सह-सचिवसँग भेटे। पहिलोपटक सहसचिवलाई भदौमा भेटेका थिए। भेट हुँदा आफूहरूलाई यातना दिने प्रहरीलाई न्यायिक समिति बनाएर निलम्बन गरिपाउँ भनेका थिए। त्यो समयमा सह-सचिवले ‘त्यसो (निलम्बन) गर्न मिल्दैन, हामी आफ्नो टोली पठाउँछौं। तपाईंहरू पहिले धर्ना समाप्त गरी घर जानुहोस्’ भनेका थिए।
तर, उनले सह-सचिवले भनेको मान्ने कुरा भएन। किनकि, उनले न्याय पाएकै थिएनन्। प्रहरीले आफूहरू माथि गरेको अत्याचारका रिपोर्टहरू हुँदाहुँदै र अनुसन्धान राम्रोसँग नभएको प्रमाण भएर पनि अहिलेसम्म कानूनी प्रक्रिया नबढेको उनको भनाइ छ। ‘त्यतिकै घर गयौं भने टोली पठाएर पनि न्याय पाउँछौं भन्ने के विश्वास भनेर मानेनौं,’ भन्छन्, ‘त्यसपछि तपाईंहरूलाई बस्न मन भए बस्नुहोस्, जान मन भए जानुहोस् भनेका थिए।’
र, दोस्रोपटक दशैंभन्दा एक साताअघि पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग विनोदले मन्त्रालयमै गएर भेटेका थिए। त्यो समयमा आरतीको केसकै अनुसन्धानका लागि सीआईबी, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोगलगायतको टोली गएका थिए। गृहमन्त्रीले ‘ती टोलीले के अनुसन्धान गरेर ल्याएका छन् भनेर सबै निकायको निष्कर्षको फाइल गृह मन्त्रालयमा मगाएको छु। त्यसलाई अध्ययन गरेपछि एक साताभित्र लिखित जवाफ दिनेछु’ भनेका थिए।
गृहमन्त्रीले एक साताभित्र जवाफ दिन्छौं भनेकै पर्खाइमा बसेको विनोदप्रसादको परिवार अझै माइतीघर मण्डलामै छ। तर पनि, गृहमन्त्रीबाट जवाफ आएको छैन।
उनीहरूले घर छोडी काठमाडौं आएको पाँच महिना पूरा हुनै लाग्यो। दिदीको न्यायका लागि सडककै बास छ तर पनि कहीं कतैबाट न्याय पाउनै नसकिएको आरतीकी बहिनी मनिषा बताउँछिन्। बीएस्सी पहिलो वर्ष अध्ययनरत उनले दिदीको न्यायका लागि गुहार लगाउँदै काठमाडौं छिर्दा फाइनल परीक्षासमेत दिन पाइनन्।
सरोकारवाला निकायबाटै बेवास्ता
पहिले-पहिले सोधखोज गर्दै आउने महिला आयोग र मानव अधिकार आयोगले अहिले भने वास्ता गर्न छोडेको विनोद बताउँछन्। न्यायकै लागि विनोद आफैंले पटक-पटक महिला आयोगको ढोका ढकढक्याएका थिए। आरतीको मृत्युको घटना छानविन होस् भनेर राष्ट्रिय महिला आयोगले पत्र काटेर गृह मन्त्रालयमा पठाइसकेको र त्यसमा गृह मन्त्रालय नै केही नगरेको उनी बताउँछन्। ‘हामी के भनौं’ भन्ने प्रतिक्रिया पाएपछि अहिले उनले महिला आयोगसँग गुहार माग्नै छाडेका छन्।
मानव अधिकार आयोगले पनि अनुसन्धानमै जुटेको भनिरहेको छ। ‘असोजमा के भइरहेको छ भनी म आफैं आयोग गई त्यहाँका प्रमुखसँग भेटेको थिएँ। भेट्दा एक सातापछि आउनु होला भनेका थिए,’ उनी भन्छन्, ‘एक सातापछि जाँदा केही अनुसन्धान गरेको छैन। अझै १५ दिन समय लाग्छ भने।’
१५ दिनपछि न आयोगले विनोदलाई बोलायो, न विनोद नै गए। हरेक निकाय धाउँदा वाक्क भएका विनोद कतैबाट न्याय नपाएपछि भने अहिले कुनै पनि निकाय धाउन छोडिसकेको बताउँछन्। ५ असारदेखि सिन्धुली कारागारमा पूर्पक्षमा रहेका आरतीका श्रीमान् मोतीबाबु र उनका ससुरा मोहन साह १८ असोजमा सामान्य तारिकमा छुटिसकेका छन्। धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रकाश गौतमलाई प्रहरी प्रधान कार्यालयमा तान्नुबाहेक थप कारवाही भएको सुनिएको छैन। मृतक आरतीले न्याय पाएकी छैनन्, उनका बाबु-आमा, दाइ र बहिनी अझै धर्नामै छन्। यो गरिब परिवारले काठमाडौं आएर पनि न्याय पाएको छैन।