काठमाडौं- १८ वैशाखमा कञ्चनपुर पुनर्वास नगरपालिका-४ कार्कीचोकका ३० वर्षीय गणेश खड्काले ७१ वर्षीय बुवा धनबहादुरको हत्या गरे। राति करिब २ बजे खड्काले निर्घात पिटेर बुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। र, हत्याको कारण घरायसी विवाद थियो।
०००
२६ भदौमा बाजुरा त्रिवेणी नगरपालिकाका धनबहादुर अयडीले ५ वर्षीया छोरीको हत्या गरे। घरनजिकै गाडेको अवस्थामा उनकी छोरीको शव भेटियो।
०००
२३ पुस ०७९ मा गाँउकै केटासँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि पर्साको पोखरीया नगरपालिका-९ मा १५ वर्षीया पुनिताकुमारी महतोको उनकै परिवारले हत्या गर्यो। परिवारका सदस्यहरूले पुनिताको हत्या गरेर राति नै नजिकको खोला किनारमा लगेर शव जलाएको थियो। उनको हत्या सहोदर काका र बुवा मिलेर गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। हत्यामा पाँचजना संलग्न देखिएका छन्। पुनिताका बुवा वीरेन्द्र फरार छन् भने आमा र काकाहरूलाई प्रहरीले पक्राउ गरेको छ।
०००
११ असारमा नवलपरासी सुनवल नगरपालिका-१३ बिचैपुरमा छोरा २५ वर्षीय शिवकुमार मुसहरले आमा ५० वर्षीया बुद्धिरानीको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरे। शव घरभित्रै छाडेर अभियुक्त फरार भए। अभियुक्त शिवकुमारले यसअघि पनि २ पटकसम्म आमालाई बेहोश हुने गरी कुटपिट गरेको अनुसन्धानमा खुलेको छ।
०००
३ भदौमा काभ्रे पाँचखाल नगरपालिका-१२ का ३६ वर्षीय हरि माझीले २६ वर्षीया श्रीमती कुमारीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरे। धुलिखेल अस्पतालमा उपचारको क्रममा कुमारीको मृत्यु भयो। हत्यामा संलग्न हरिलाई प्रहरीले पक्राउ गरेको छ।
०००
काठमाडौं तीनकुनेस्थित दिव्य सः मिलभित्र २९ भदौमा सञ्जय भण्डारी नामक युवकले ४ जनाको वीभत्स हत्या गरे। प्रहरीसँग उनले नक्साल भाटभटेनी, सुकेधारा, रातोपुल, भक्तपुर, बौद्ध र सिन्धुपाल्चोकमा पनि विभिन्न व्यक्तिको हत्या गरेको बयान दिएका छन्। जन्मजात बोल्न नसक्ने उनले आफूलाई सोही कारण होच्याउनेहरूको हत्या गरेको बयान दिएका छन्। उनको बयानका आधारमा सिरियल किलर देखिएपछि प्रहरीले मुलुकमै पहिलोपटक ‘ब्रेन म्यापिङ’ विधि प्रयोग गरी थप अनुसन्धान गरेको छ। र, बोल्न नसक्ने भए पनि उनको दिमाग सामान्य मानिसको भन्दा तीक्ष्ण पाइएको छ।
०००
यी थोरै घटना मात्र हुन्। देशभर हरेक वर्ष हत्याका घटना बढ्दो क्रममा रहेको प्रहरीको तथ्यांकले देखाउँछ। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५-७६ मा ६७९ जनाको हत्या भएको थियो। र, हत्या संलग्नलाई पक्राउ गरी ६५९ मुद्दा दर्ता भएको थियो। त्यस वर्षमा ३५५ पुरुष र २३६ महिलाको हत्या भएको थियो। अन्य ३७ बालिका र ४१ बालकको पनि हत्या भएको थियो।
यस्तै, आव ०७६-७७ मा ५८६ जनाको हत्या भएको थियो। त्यस वर्ष हत्या भएका पुरुषको संख्या ३२८ थियो भने महिला १८० थिए। सोही वर्ष ४५ बालक र ३३ बालिकाको हत्या भएको थियो। र, ५५५ हत्याका मुद्दा दर्ता भएका थिए।
आव ०७७-७८ मा ७०७ जनाको हत्या भएको थियो। तीमध्ये ४०५ पुरुष, २२१ महिला, ६१ बालक र १९ बालिका थिए। उक्त वर्ष हत्याका ६९७ मुद्दा दर्ता भएका थिए।
आव ०७८-७९ मा ६२१ जनाको हत्या भएको थियो, जसमा ३५५ पुरुष, २१० महिला, ३७ बालक र १९ महिला थिए। त्यस वर्ष ५९९ मुद्दा दर्ता भएका थिए।
आव ०७९-८० मा ५२२ जनाको हत्या भएको छ, जसमध्ये २६६ पुरुष, १९६ महिला, ३४ बालक र २६ बालिका थिए। त्यस वर्ष ५०३ वटा मुद्दा दर्ता भएका छन्।
०००
पाँच वर्षको तथ्यांक केलाउँदा नेपालमा हत्या हुनेमा पुरुषको संख्या बढी छ। ०७५ देखि ०८० सम्ममा नेपालमा १ हजार ७०९ पुरुषको हत्या भएको छ। दोस्रोमा महिलाको हत्या भएको देखिन्छ। यो पाँच वर्षमा १ हजार ४३ महिला, २१८ बालक र १४४ बालिकाको हत्या भएको छ।
यसरी हेर्दा नेपालमा सबैभन्दा बढी हत्या पुरुषको त्यसपछि महिला, बालक र सबैभन्दा कम बालिकाको हत्या भएको तथ्यांकले देखाउँछ।
०००
आव ०७५-७६ मा हत्या आरोपमा १ हजार २९६ जना पक्राउ परेका थिए, तीमध्ये १ हजार १०२ पुरुष, १८२ महिला र १२ जना विदेशी पुरुष थिए। यस्तै, आव ०७६-७७ मा हत्या आरोपमा ९११ जना पक्राउ परेका थिए। तीमध्ये ७८० पुरुष, ११९ महिला र ११ जना विदेशी पुरुष र १ विदेशी महिला थिए।
आव ०७७-७८ मा हत्या आरोपमा १ हजार ६९ जना पक्राउ परेका थिए। तीमध्ये ९४२ पुरुष, ११० महिला र ७ जना विदेशी पुरुष थिए। आव ०७८-७९ मा ८९८ जना हत्याको आरोपमा पक्राउ परेका थिए, जसमा ७६८ पुरुष, १२४ महिला र ६ विदेशी पुरुष थिए।
यस्तै, आव ०७९-८० मा ७६६ जना हत्या आरोपमा पक्राउ परेका छन्। तीमध्ये ६४४ पुरुष, ११४ महिला, ६ जना विदेशी पुरुष र १ विदेशी महिला छन्।
०००
पछिल्लो समय नेपालमा हत्याको प्याट्रन हेर्ने हो भने बढी रिसइबी र आर्थिक मामिलामा जोडिएर हुने गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवर कडायत बताउँछन्। उनका अनुसार हत्या हुनुको आर्थिक पाटो लेनदेन र लुटपाट छ। लेनदेनको कुरा मिलेन भने वा लुट्न गयो र संघर्ष गर्नुपर्यो भने हत्या हुने गरेको पाइएको छ। भन्छन्, ‘केही वर्ष अघिसम्म ग्याङ फाइटबाट हत्या गरिने ट्रेन्ड थियो। तर, अहिलेको अवस्थामा संगठित रूपमा खासै हत्या भएको देखिँदैन।’
अहिले हत्या संगठित रूपमा हुने नगरे पनि अन्य अपराधहरू जस्तो- तस्करी, चोरी, सुन, जग्गाको विषयमा भने संगठित संलग्नता भने कायमै रहेको उनी बताउँछन्। तराई र अन्य क्षेत्रमा हत्या गरिनुको कारणमा पनि फरक देखिन्छ। उनी भन्छन्, ‘तराईमा दाइजो र श्रीमान् वा श्रीमतीको अर्कैसँग अफेयर चलेका कारण हत्या गर्ने गरेको पाइन्छ भने शहरी अथवा अलि विकसित क्षेत्रमा आर्थिक र रिसइबीकै कारण हत्या गरिएको देखिन्छ।’
कहिलेकाहीं स-साना झैझगडा र डिप्रेसनका कारणले पनि हत्या गर्ने गरेको पाइन्छ। यदि कसैको रिसइबी तथा अन्य कारणले हत्या गर्यो भने ऊसँगै भएको अर्को निर्दोष मानिसलाई पनि पहिचान खुल्छ भन्ने मनसायले हत्या गर्ने गरेको उनी बताउँछन्।
०००
६-७ वर्षको तथ्यांकलाई मध्यनजर गर्दा नेपालमा हत्याका घटनाहरू बढ्दै गएको नेपाल प्रहरीका पूर्वडीआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्। उनका अनुसार हत्याका घटनालाई प्रहरीमा भन्दा पनि समाजमा गएर हेर्नुपर्छ। हत्याका कतिपय कुरा १० वर्षे द्वन्द्वसँग पनि जोडिएको उनी बताउँछन्।
‘द्वन्द्वले मानिसहरूको मनोविज्ञान परिवर्तन गराएको देखिन्छ। मानिसहरू विस्तारै अनुशासनहीन र आक्रामक भएकाले पनि हत्याका घटनाहरू बढिरहेको पाइन्छ,’ उनी भन्छन्, ‘स-सानो कुरामै आक्रामक हुन थालेपछि आवेशमा आएर हत्या गरिहाल्ने प्रवृत्ति बढेको छ।’
मानिसका लागि सबैभन्दा सुरक्षित ठाउँ घर हो। तर, अहिले सबैभन्दा बढी हत्याका केसहरू परिवारबाटै हुने गरेको मल्ल बताउँछन्। केही वर्ष अघिसम्म पराईसँगको मनमुटाव वा अन्य कारणले हत्या हुन्थ्यो भने अहिले आफ्नाले आफ्नैको हत्या गर्न पछि नहट्ने देखिएको छ।
‘अहिले बुवाले छोरालाई, छोरीले आमालाई, सासुले बुहारीलाई र नातिले बाजेलाई मार्ने गरेका घटनाहरू बढ्दै गएका छन्,’ भन्छन्, ‘यसकारण पनि सबैभन्दा पहिले हत्याका घटनालाई न्यूनीकरण गर्ने हो भने पारिवारिक शान्ति, अनुशासन र संस्कार बचाइराख्नु आवश्यक छ।’
प्रहरी प्रधान कार्यालयको पाँच वर्षको तथ्यांकले नेपालमा महिलाभन्दा बढी पुरुषको हत्या भएको देखाउँछ। पुरुषहरूको रिसइबीका कारण बढी हत्या हुने गरेको उनी बताउँछन्। पुरुषहरू बढी आर्थिक कारोबारसँग जोडिएका हुन्छन्। त्यसकारण सम्पत्तिको विषयलाई लिएर पनि पुरुषको हत्या हुने गरेको उनको भनाइ छ।
महिलाहरू रिस नियन्त्रण गर्न सक्छन् भने पुरुषहरू रिसइबीलाई रियाक्ट बढी गर्न थाल्छन्। यसकारण पनि महिलाको दाँजोमा पुरुषको हत्या बढी हुने गरेको उनी बताउँछन्। भन्छन्, ‘मदिरा, लागूऔषधलाई पनि हत्याको कारण मान्न सकिन्छ। यसको सेवन पनि महिलाभन्दा बढी पुरुष नै गर्ने गर्छन्। यसकारण हत्या बढी पुरुषको हुने र यसमा संलग्नता पनि पुरुषकै बढी रहने गर्छ।’
हत्याका घटना कम गर्न द्वन्द्वलाई न्यूनीकरण गर्नुपर्ने मल्ल बताउँछन्। भन्छन्, ‘द्वन्द्व भन्नाले १० वर्षे सशस्त्र विद्रोह मात्र नभई विभिन्न समयमा अन्य राजनीतिक पार्टीले गरेका आन्दोलनलाई पनि नियालेर हेर्नुपर्छ।’
यसका अतिरिक्त अपराधमा जोडिएको राजनीतिकरणले पनि हत्यालाई प्रोत्साहन गर्ने गरेको उनको भनाइ छ। राजनीतिसँग जोडिएका व्यक्तिहरू हत्याजस्तो जघन्य अपराधमा जेल चलान भएपछि पनि सजिलैसँग रिहा हुन थालेकाले भविष्यमा हत्याले अझै विकराल रूप लिन सक्ने उनको ठम्याइ छ।
भन्छन्, ‘हत्याको विषयमा कानून बनेका छन्। तर, तिनको कार्यान्वयनमा खासै चासो दिएको देखिँदैन। भविष्यमा हत्याका घटनालाई कम गर्ने हो भने सबैभन्दा पहिले कानूनको कार्यान्वयनमा ध्यान दिनुपर्छ।’
०००
यदि कसैलाई दुख दिनुपर्यो या कसैले रिस उठायो, हेप्यो, अन्याय गर्यो, स्वार्थ पूरा गर्नुपर्यो र बदला लिनुपर्यो भने त्यतिबेला हत्याको सोच आउन सक्ने मानसिक रोग विशेषज्ञ डा. प्रभाकर पोखरेल बताउँछन्। उनका अनुसार हत्या गर्नुको पछाडि सबै व्यक्तिमा समान कारण हुन्छ भन्ने हुँदैन। मानसिक रोगका कारण पनि हत्याको सोच आउन सक्छ। केही व्यक्तिमा शंकाको रोग हुन्छ। त्यस्तो व्यक्तिले आफ्नी श्रीमतीको अर्कोसँग अफेयर चलिरहेको छ, मलाई मार्न खोजिरहेको छ भन्ने मनसायले श्रीमती र जोसँग अफेयर भइरहेको छ, त्यसलाई पनि मारिदिन्छु भन्ने सोच राखेर हत्या गर्ने गरेको डा. पोखरेल बताउँछन्। भन्छन्, ‘कतिपय अवस्थामा हेलोसोलुसन भएको व्यक्तिहरूले हत्या गरिरहेका हुन्छन्। किन यस्तो गरेको भनेपछि भगवानले मलाई बली दे भनेर भन्यो अनि बली चढाएको भन्ने कुरा पनि गर्छन्, जसलाई मानिसक रोगका कारण गरेको मान्न सकिन्छ।’
सन् २०२२ मा अमेरिकाको टेक्सस राज्यस्थितको प्राथमिक विद्यालयमा १८ वर्षीया युवतीले गोली प्रहार गर्दा २० जनाको हत्या भएको थियो। त्यो घटना पनि मानसिक रोगका कारणले पनि भएको हुन सक्ने उनको भनाइ छ। हत्या गरिनुको अर्को कारणमा साइको प्याथ पनि रहेको डा. पोखरेलको भनाइ छ।
साइको प्याथ भन्नाले साइकोलोजिकल भाषामा भावनाविनाको मान्छे भन्ने बुझिन्छ। साइको प्याथ भएका व्यक्तिहरूले पनि हत्या गर्ने गरेका उनी बताउँछन्। साइको प्याथमा सिरियल किलरहरू पर्छन्। भन्छन्, ‘साइको प्याथ भएका मानिसहरू यदि कोही मानिसहरू मन पर्दैन भने त्यसको हत्या गर्न अगाडिदेखि नै प्लानिङ गर्ने र आफू त्यसबाट कसरी बच्ने भनेर उपायसमेत लगाइसकेका हुन्छन्।’
उनका अनुसार मानसिक रोग भएका सबैले हत्या गर्दै हिँड्छन् भन्ने छैन। तर, मानिसक रोगमा आवेशमा आउने, रिसाइहाल्ने, शंका, डर, चिन्ताजस्ता लक्षण (साइकोसिस) भएका व्यक्तिहरूले भने आवेगमा आएर हत्या गर्ने गरेको पाइन्छ। साइकोसिस १०० जनामा एक जनालाई हुने रोग हो। यस्ता रोगीहरूमा प्लान गर्न सक्ने क्षमता कम हुन्छ। र, आवेगमा आउनेबित्तिकै प्रहार गर्छन् अनि हत्या हुन पुग्छ।
लागूपदार्थ प्रयोगकर्ताले पनि हत्या गर्ने गरेको उनको भनाइ छ। भन्छन्, ‘कतिपय अवस्थामा मानसिक रोग भएका व्यक्तिहरूले श्रीमानलाई काटेर प्रेसर कुकरमा पकाएको वा शंकाले टाउको नै काटिदिएकाजस्ता घटना पनि भएका छन्।’
डिप्रेसनले गर्दा पनि हत्याका केसहरू हुन्छन्। बेकारमा म सन्तानलाई पनि पाल्न सक्दिनँ, योभन्दा त उनीहरूलाई मारिदिन्छु र आफू पनि मर्छु भन्ने सोचले पनि हत्या गर्ने गरेको उनी बताउँछन्। समग्रमा हत्या मानव भावनाले गर्दा हुने उनको भनाइ छ। ‘हत्याका घटनालाई न्यूनीकरण गर्न हत्या गरे म उम्किन्न भन्ने सोच व्यक्तिमा दिलाउन कानून नै बलियो हुनुपर्छ,’ उनी भन्छन्, ‘हत्याबाट कोही पनि उम्कन सकेनन् भने समाजमा मैले त्यो गल्ती गरे भने फसिहाल्छु भन्ने सन्देश जान्छ र हत्याका घटनामा कमी आउन सक्छ।’