काठमाडौं- जिरी भन्नासाथ अधिकांशको दिमागमा स्विट्जरल्यान्डको तस्बिर आउँछ। स्विट्जरल्यान्डको भूगोल नेपालसँग मिल्दोजुल्दो मानिन्छ। किनकि, त्यहाँ पनि हिमाली भेग प्रशस्त छन्।
संघीय राजधानी काठमाडौंबाट १८४ किलोमिटर टाढा पर्छ, जिरी। काठमाडौंबाट काभ्रे, सिन्धुपाल्चोक हुँदै दोलखा जिरी पुगिन्छ। त्यहाँका कला संस्कृति, भेषभूषासँगै स्थानीय खाद्य परिकारहरूले पर्यटकको मन लोभ्याउँछन्। आँखाले भ्याएसम्म देखिने अग्ला-अग्ला डाँडा, हरियाली जंगल अनि सदावहार चल्ने चिसो हावाले त्यहाँ पुग्ने पर्यटकको मन नजित्ने कुरै भएन।
दुई हजार १९१ वर्गकिलोमिटरमा फैलिएको जिरीको पूर्वमा सोलुखुम्बू र रामेछाप पर्छन्। पश्चिममा सिन्धुपाल्चोक र उत्तरमा चीनको तिब्बतलाई छोएको छ। विगतमा पहिला दुर्गम मानिने जिरी अहिले सहज सडक मार्गबाट जोडिएको छ। र, बाह्यभन्दा ज्यादा आन्तरिक पर्यटकको केन्द्र बनेको छ।
त्यहाँ पुग्ने पर्यटकले स्विजरल्यान्डको ज्युरिचसँग तुलना गर्छन्। घुम्नका लागि प्रशस्त ठाउँहरू भएको जिरीका पर्यटक अभियन्ता लीलाराम खड्का बताउँछन्। उनका अनुसार विश्वमै पहिलोपल्ट सगरमाथा चढ्न सफल भएका तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी सर्वोच्च शिखर चढ्न जाँदा जिरीमा बास बसेका रहेछन्। उनीहरूले २९ मे १९५३ मा सगरमाथाको सफल आरोहण गरेका थिए। ‘त्यही कारण पनि नयाँ पुस्ताले जिरीलाई मन पराइरहेका छन्,’ खड्का भन्छन्।
जिरीको प्रमुख आकर्षण हुन्- यहाँका झरना, गुफा, पोखरी, खोलानाला, कोणधारी हरिया वनजंगल अनि अग्ला डाँडाकाँडा र सुन्दर उपत्यकाहरू। त्यति मात्रै कहाँ हो र ! आदिवासी जिरेल, शेर्पा, तामाङ र सुनुवार समुदायका पृथक कला संस्कृति, भेषभूषा र स्थानीय खाद्य परिकारहरूले जोकोहीको मन लोभ्याउँछन्।
जिरीमा घुम्न लायक थुप्रै पर्यटकीय गन्तव्य छन्। तीमध्ये यस आलेखमा केही रमणीय गन्तव्यबारे चर्चा गर्नेछौं।
च्योर्दोङ तथा क्याङ्से पोखरी
हिमशृंखलाको दृष्यावलोकनका लागि यो ठाउँ सबैभन्दा उपयुक्त मानिन्छ। यहाँबाट नुम्बुर, गौरीशंकर, लामाबगर, कालिन्चोक, शैलुङ, सिन्धुली गढीजस्ता प्रसिद्ध स्थानहरू अवलोकन गर्न सकिन्छ।
च्योर्दोङ हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो। यहाँको महादेवको मन्दिरमा हजारौं त्रिशुलहरू चढाइएको छ। यस मन्दिरमा पूजाआजा गरेमा रोग व्याधि नलाग्ने, पशु चौपायालाई जंगली जनावरले दुःख नदिने जनविश्वास छ। १ वैशाख नयाँ वर्ष र कात्तिक पूर्णिमामा यहाँ मेला लाग्छ।
जिरी बजारबाट करिब ६ घण्टाको उकालो चढेपछि च्योर्दोङ पुग्न सकिन्छ।
हनुमन्ते
दोलखाको सबै भूभाग एकै ठाँउबाट अवलोकन गर्न सकिने एक मात्र स्थान हो, हनुमन्ते डाँडा। यहाँबाट दोलखाका प्रसिद्ध पर्यटकीय स्थलहरू कालिञ्चोक भगवती, दोलखा भीमसेन, शैलुङ थुम्का तथा पूर्वतर्फ नुम्बुर हिमालदेखि पश्चिममा लाङटाङ हिमालसम्मको दृश्यावलोकन गर्न सकिन्छ। जिरीको प्रवेशद्वार खावाडाँडाबाट करिब ३ घण्टाको पदयात्रा गरे हनुमन्ते पुग्न सकिन्छ।
गुराँस पार्क
हाइकिङ, पिकनिक, क्याम्पिङ, बर्ड वाचिङ र जंगल सफारीका लागि यो स्थान उपयुक्त मानिन्छ। ठूलो नागी सामुदायिक वनक्षेत्रको बीचमा खुला चौर हो, गुराँस पार्क। यस चौरको वरिपरि विभिन्न प्रजातिका गुराँस पाइने बाक्लो जंगल छ। फागुन, चैततिर ढकमक्क गुराँस फुल्दा यहाँको वातावरण मनमोहक बन्छ।
जिरी बजारबाट करिब ३ घण्टामा हाइकिङमार्फत बुद्ध पार्क हुँदै गुराँस पार्क पुगिन्छ।
बुद्ध पार्क
जिरी बजारबाट ६ किलोमिटर मात्र टाढा छ, बुद्धपार्क। त्यहाँबाट जिरी उपत्यकाको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ। पार्कको बीचमा २० फिट अग्लो शाक्यमुनि बुद्धको प्रतिमा स्थापित गरिएको छ। पार्कलाई आकर्षक बनाउन बगैंचा, ध्यानकेन्द्रलगायत संरचनासमेत निर्माण गरिएको छ। जिरी बजारबाट १ घण्टा हिँडेर बुद्ध पार्क पुग्न सकिन्छ।
स्टोन पार्क
स्टोन अर्थात् ढुंगाबाट कलात्मक ढंगले सजाएर पार्क बनाइएको छ। खिम्ति खोलाको चिसो हावासँगै यहाँका स्थानीय माछाको स्वाद र आनन्द लिन सकिने स्टोन पार्क पिकनिक र मनोरञ्जनको एक प्रमुख गन्तव्य हो। त्यहाँ पुग्न जिरी बजारबाट करिब २ घण्टा पैदल यात्रा गर्नुपर्छ।
राम्बोले काली देवी
जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ, राम्बोले काली देवीथान। यहाँ कात्तिक शुक्ल पक्षको एकादशीदेखि पूर्णिमासम्म भव्य मेला लाग्छ। किनकि, देवीको दर्शनबाट पराक्रम प्राप्त हुने र चिताएको कुरा पुग्ने जनविश्वास छ। यो जिरी बजारबाट करिब एक घण्टाको पैदल यात्रामा पर्छ।
जिरेश्वर महादेव
यहाँ गाईले दूध चढाउने गरेको देखेपछि उत्खनन् गर्दा महादेव प्रकट भएको जनविश्वास छ। जिरेश्वर महादेव मन्दिर जिरीको सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य हो। जिरेश्वर महादेवलाई किसानको देवता पनि भनिन्छ। नाग पञ्चमी र जनै पूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गर्छ। जिरी बजारबाट करिब ३० मिनट पैदल यात्राबाट त्यहाँ पुगिन्छ।
चिज उत्पादन केन्द्र
नेपालमै पहिलोपटक स्विट्जरल्यान्डका नागरिकहरूले यहाँ चिज उत्पादन केन्द्र खोलेका थिए। यहाँ पुग्दा चिज बनाइरहेको लाइभ दृश्य देखिन्छ। र, ताजा चिज र नौनी घिउ किन्न सकिन्छ। त्यहाँ पुग्न जिरी बजारबाट हिँडेर दुई घण्टामा पुगिन्छ।
तेन्जिङ-हिलारी पार्क
सगरमाथाको सफल आरोहण गरेका पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी जिरी हुँदै गएको मानिन्छ। त्यसैले यहाँ उनीहरूको सम्झनामा पार्क बनाइएको छ। पार्कको बीचमा तेन्जिङ र हिलारीको आकर्षक अर्धकदका शालिकहरू स्थापना गरिएको छ। जिरी बजारबाट मात्र १५ मिनटको हिँडाइमा यो पार्कमा पुगिन्छ।
यीसँगै जिरी विमानस्थल र प्राविधिक शिक्षालय पनि यहाँका आकर्षक गन्तव्य हुन्। कञ्चन पानी बग्ने खोला जिरीको अर्को आकर्षणको केन्द्र हो। अहिले जिरीको आलु, छुर्पी, चिजमा आन्तरिक पर्यटकको मन बसेको अभियन्ता खड्का बताउँछन्।
तीन दिनदेखि २-३ सातासम्म घुम्न पुग्ने स्थलहरू जिरी र आसपासमा रहेको उनको भनाइ छ। तर, पछिल्लो समय दोलखा चरिकोटबाट निर्माणाधीन करिब ५० किलोमिटर लामो सडकका कारण जिरीमा पर्यटकहरू घटिरहेको स्थानीय बासिन्दाको गुनासो छ।