पार्टीमा चियापान
ज्युनारीको लहर चलेको छ
गालीका गोला दाग्नेहरू
दाँत देखाउँदै, हाथ मिलाउँदै
अँगालो हालाहाल गर्दै
फोटा खिचाउँदै मस्त छन्
सँगै दाँत देखाएर
बसेको देख्दा
जनता झस्किएका छन्
यो कुनै स्वार्थको बसाई त होइन ?
नयाँ ज्युनारीको तैयारी त होइन ?
कुनै मिलेमतोको दर्शन त होइन ?
कतै राष्ट्र र जनताले
केही गुमाउने त होइनन्
सँगै बसेको देख्दा
खुशी हुनु
भन्दा पनि शंकै लाग्ने
वातावरण बनाउनेको
नेता हाँसेको देख्दा
जनता दुःखी हुने
वातावरण बनाउने कारकको
अब तिम्रा चियापान
भ्युटावरमा गर
महाकाली नदीमा गर
बेचेका सरकारी कारखानामा गर
दलालको घर आँगनमा गर
बेचेको सरकारी जमिनमा गर
सफा मनले यस्ता
चिया खाँदैमा, खुवाउँदैमा
सबै ठीक हुने भए
रोज यस्तो चियापान
गरे पनि हुने थियो
दिमागमा व्यवहारमा
भ्रष्टाचार, बेथिति भएसम्म
यस्ता मेलमिलाप चियापानले
कुनै सकारात्मक
सन्देश दिने वाला छैन