काठमाडौं- कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ का देवराज खत्री हरेक वर्ष दशैंमा नवदुर्गा (नौरथा- नवरात्रि) को व्रत लिन्छन्। यस वर्ष पनि उनले घटस्थापनाको दिनदेखि व्रत लिए।
घटस्थापनादेखि नवमीसम्म बिहानै उठेर नुहाउनु, नवदुर्गाको पूजा गर्नु, जमरामा पानी हाल्नु उनको दैनिकी थियो। दिउँसो उनले घरायसी काममा व्यस्त रहे भने साँझपख नुहाएर पूजा गरी जमरामा पानी हालिसकेपछि आफ्ना लागि सादा खाना बनाउँथे। खाना खाइसकेपछि उनको त्यो दिने व्रत अन्त्य हुन्थ्यो। र, अर्को दिन पनि त्यसरी नै बिहानै उठेर नुहाएर नवदूर्जाको पूजा गरी जमरामा पानी हालेर व्रतको शुरुवात गर्थे। यो क्रम घटस्थापनादेखि नवमीसम्म चल्यो।
उसो त, खत्रीको परिवार शुद्ध शाहाकारी हो। तर पनि घटस्थापनाको दिनदेखि नवमीसम्म व्रतमा लसपस हुन सक्ने भएकाले उनको घरमा लसुन, प्याजसम्म पाकेन। ९ दिनसम्म सबैले सादा खाना नै खाए।
खत्रीका अनुसार नौरथाको व्रत घटस्थापनादेखि शुरु भई नवमीसम्म हुने गरे पनि व्रत बस्ने सबैले नवमीसम्मै बस्नुपर्छ भन्ने छैन। ३-४ दिनसम्म दैनिक व्रत बस्दा कमजोरी महशुस हुन थाल्छ। त्यसकारण स्वास्थ्यमा जटिलता देखिन थालेपछि केही व्यक्तिले नवमीसम्म व्रत बस्न नसकेर बीचमै छाड्छन्। ‘घरमा जुठो नपरेको खण्डमा मैले हरेक वर्ष नौरथाको व्रत लिन्छु। तर, हरेक वर्ष मैले पनि पूरै व्रत लिन सकिरहेको हुँदिनँ,’ भन्छन्, ‘स्वास्थ्य राम्रो भए व्रत पूरा गर्न सक्छु, नभए केही दिन बसेर बीचमै छोड्छु।’
नेपालको पश्चिमी भेगको समाजमा दशैंमा नौरथाको व्रत बसेमा दुर्गामाताले परिवामा सुख र शान्ति भित्र्याउँछिन् भन्ने मान्यता छ। त्यसकारण यो समयमा प्रायः इच्छुक सबै उमेर समूहका व्यक्तिहरू व्रत बस्ने गरे पनि बढीजसो भक्तिभाव राख्ने ५० नाघेकाहरू व्रत बस्ने गरेको खत्री बताउँछन्।
हरेक वर्ष दशैंमा नवरात्रिको व्रत उनकी श्रीमती सीतादेवी खत्री पनि लिन्छिन्। व्रत बस्दा उनले पनि नवमीसम्म बेलुकीपख मात्र सादा खाना खान्छिन्।
०००
कृष्णपुरकै ५८ वर्षीय हरि बोहरा पनि हरेक वर्ष दशैंमा नवदुर्गा भवानीको व्रत बस्छन्। हरि पनि घटस्थापनाको दिनदेखि नवमीसम्म व्रतमा रहन्छन्। यी नौ दिनमा उनी हरेक बिहानै उठेर नुहाउँछन् र, पूजा गर्न घर नजिक नवदुर्गा मन्दिरमा पुग्छन्।
दिनभरि अन्य क्रियाकलापमा व्यस्त रहने उनी बेलुकी फेरि नुहाएर घरमै दुर्गाको पूजा गरिसकेपछि शुद्ध खाना खान्छन्। नवमीको दिन अन्तिम व्रत भएकाले उनी छरछिमेकमा महिनावारी नभएका नौवटी कन्या बोलाई उनीहरूको पूजा गर्छन्। कन्याको पूजा गरिसकेपछि उनीहरूलाई मिठामिठा परिकार खुवाउने र शृंगारको समान अनि क्षमताअनुसार दक्षिणा दिएर खुशी बनाई विदा गर्छन्।
हरिका अनुसार रजस्वला नभएका बालिकाहरू दुर्गाका रूप हुन्छन्। त्यसकारण उनीहरूलाई खुशी बनाउन सकियो भने घरमा सधैं खुशियाली छाउँछ। त्यसैले पनि आफूले हरेक दशैंको नवमीमा नौै कन्याको पूजा गर्ने उनको भनाइ छ। भन्छन्, ‘नवमीको साँझपख नुहाइधुवाई गरी दुर्गाको पूजा गरी सकेपछि बल्ल व्रत तोड्छु।’
०००
विजया दशमी हिन्दु नेपालीहरूको महान् पर्व हो। त्यसकारण दशैंलाई परम्परादेखि सुदूरपश्चिम प्रदेशमा पनि हर्ष उल्लासका साथ मनाइँदै आएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद डा. त्रिलोक्यनाथ जोशी बताउँछन्।
नौ जिल्ला रहेको सुदूरपश्चिममा हरेक जिल्लावासीको आ-आफ्नै भाषा र संस्कृति छ। तथापि, दशैं मनाउने तरिका धेरै हदसम्म समान रहेको उनको भनाइ छ। सुदूरपश्चिमका नौवटै जिल्लामा बडादशैंमा विशेष गरेर पूजाआजा, बली दिने र मिठामिठा परिकार खाँदै परिवारको अग्रज व्यक्तिहरूबाट टीका र जमरा थाप्ने परम्परा छ। डा. जोशी भन्छन्, ‘अन्य समयमा नभए पनि दशैंमा अग्रज सदस्यले आफूभन्दा उमेरमा सानो सदस्यलाई टीका, जमरा लगाइदिएर क्षमताअनुसार दक्षिणा दिने चलन पनि छ।’
उनका अनुसार पहिले-पहिले दशैं विदा घटस्थापनाको दिनदेखि तिहारसम्म हुन्थ्यो। अहिले भने दशैं विदामा पनि कटौती भएको छ। यस वर्ष ३ कात्तिकबाट दशैं विदा शुरु भएको थियो। सुदूरपश्चिमका धेरै युवा रोजगारीको सिलसिलामा भारत जान्छन्। केही पढाइको सिलसिलामा काठमाडौंलगायत अन्य प्रदेशमा हुन्छन्। डा. जोशी भन्छन्, ‘वर्षदिनको बडादशैंमा भारत र उपत्यकामा रहेका सबै युवा घर फर्किन्छन्। र, छुट्टै किसिमको रौनक छाउँछ।’
दशैंको अवसरमा माछामासु र मिठामिठा परिकार खानुपर्छ भन्ने आम धारणा रहे पनि सुदूरपश्चिमका धेरै जिल्लाका युवा पुस्ताबाहेक प्रायः घरका बुढापाका र तन्नेरी महिला, पुरुषहरू घटस्थापनादेखि नवमीको दिनसम्म व्रत बस्ने परम्परा रहेको उनी बताउँछन्।
यसरी व्रत बसेका घरमा नवमीसम्म माछामासु नखाई शुद्ध शाहाकारी खाना खानुपर्छ। अधिकांशको घरमा अष्टमीको दिनमा घरमा कालो बोका बली दिने चलन छ। व्रतालुबाहेक सबैले मासु खाने गरेको उनको भनाइ छ।
अष्टमीको दिन बैतडीस्थित त्रिपुरासुन्दरी, डडेलधुराको उग्रतारा, डोटीको शैलेश्वरीलगायत थुप्रै शक्तिपिठहरूमा राँगा र बोकाको बली दिने चलन छ। बली दिने गरिएका वा नगरिएका सबै मन्दिरमा घटस्थापनाको दिनदेखि दशमीको दिनसम्म दुर्गा भगवतीको आराधाना गर्दै रातभर भजनकीर्तन गर्दै जाग्राम बस्ने चलन छ।
कुन दिन के गरिन्छ ?
दशैंको पहिलो दिन घटस्थापना पर्ने भएकाले यो दिनमा सुदूरपश्चिमका महिलाहरू चाँडै उठी नुहाइधुवाई गरी घर लिपपोत गर्छन्। घटस्थापनाको अघिल्लो दिनसम्म १६ श्राद्ध पर्ने भएकाले घर अशुद्ध रहने मान्यता यहाँ छ। त्यसकारण घटस्थापनाको दिन चाँडै उठी नुहाइधुवाई गरी घर शुद्ध बनाउन लिपपोत गरिनछ। र, गाईको गहुँछमा तिल, जौ मिसाएर घरका विभिन्न भागहरूमा छर्कने गरिन्छ। यसरी घर शुद्ध बनाएपछि भने रीतअनुसार शुभ साइतमा जमरा छर्ने चलन रहेको डा.जोशी बताउँछन्।
घटस्थापनाको दिन जमरा छर्केपछि हरेक साँझबिहान नुहाएर जमरामा पानी हाल्नुपर्छ। सप्तमीको दिन बेलपत्र, पाति, धानको गाभा, अनारको पात, अदुवाको बोट, उखु, केरा गरी नौ प्रकारका बिरुवाहरू घरमा भित्र्याइन्छ।
उनका अनुसार दशैंको आठौं दिन अर्थात अष्टमीमा सुदूरपश्चिममा टीकाको दिनभन्दा बढी रौनक छाउँछ। त्यस दिन प्रदेशका ठूला शक्तिपिठ र दुर्गा मन्दिरहरूमा राँगा र बोकाको बली दिने परम्परा छ। त्यही दिन घर-घरमा मिठामिठा परिकार पकाइन्छ। र, बिहे गरेका छोरी अनि दिदी-बहिनीहरूलाई पनि बोलाई खुवाउने चलन छ। ‘बली मन्दिरमै दिनुपर्छ भन्ने छैन। धेरैले आफ्नै घरमा देवीको स्थापना गरेका हुन्छन्। त्यसकारण पण्डित बोलाएर पूजा लगाई देवी स्थापना गरेकै स्थानमा बली दिइन्छ,’ डा. जोशी भन्छन्, ‘जुन-जुन मन्दिरमा अष्टमीको दिन बली दिइन्छ, त्यो मन्दिरमा अष्टमीकै दिन नुहाएर आफूले सोचेको कुरा पूरा भयो भने अर्को वर्ष आफूले पनि बली चढाउने छु भनेर भाकल पनि गर्ने गरिन्छ। र, सोचेको कुरा पूरा भयो भने बली चढाइन्छ पनि।’
अष्टमीको दिनमै सुदूरपश्चिमका कृषकहरूले शुभ दिन पारेर नयाँ बाली धानलाई मन्दिर र घरको मुल ढोकामाथि देलीबालो लगाउँछन्। सूदूरपश्चिमका धेरै शक्तिपिठमा अष्टमीको दिन बली दिने परम्परा रहिआएको छ। बली दिनु राम्रो होइन र बली दिएर देवी देउता खुशी हुँदैनन् भन्ने अहिलेका पुस्ताको धारणा रहे पनि अष्टमीको दिन राँगा, बोकाको बली दिने परम्परा भने यथावत नै रहेको डा. जोशी बताउँछन्। ‘अष्टमीमा त्रिपुरासुन्दरी मन्दिरमा निकै ठूलो मेला लाग्ने गर्छ, जहाँ दर्शनका लागि देशका विभिन्न स्थानबाट भक्तजन आउने गर्छन्,’ भन्छन्, ‘यहाँ गत वर्ष मात्रै ३ सयभन्दा बढी राँगा र बोकाको बली दिइएको थियो।’
सुदूरपश्चिममा घटस्थापनाको दिनदेखि व्रत बसेका श्रद्धालुहरूले नवमीको दिन नौजना कन्याहरूको पूजा गरेर व्रत तोड्ने गर्छन्। पूजा गरेका कन्याहरूलाई व्रतालुहरूले आफ्नो क्षमताअनुसार दक्षिणा दिने र खानेकुरा खुवाउने गरेको उनको भनाइ छ।
दशैंको दिन परिवारका सबै सदस्य र नजिकका आफन्तजनहरू एकै ठाउँमा भेला भई शुभ साइतमा परिवारको जेठो सदस्यद्वारा टीका र जमरा थाप्छन्। र, आफूभन्दा सानोलाई क्षमताअनुसार दक्षिणा दिइन्छ।
सूदूरपश्चिममा दशैंको दिन विशेषगरी माछामासु, सेलरोटी, फिनीरोटी, खिर, पुरी, मासको बटुक, फाडो पकाउने गरिन्छ।
सुदूरपश्चिममा धेरै संख्यामा थारू समुदायको बसोबास छ। पहिले-पहिले थारू समुदायमा दशैं मनाउने चलन थिएन। तर, हिजोआज पहाडी समुदायबाट प्रभावित भएर थारू समुदायले पनि दशैं निकै धुमधाम साथ मनाउँछन्। डा. जोशी भन्छन्, ‘दशैंमा थारू समुदायमा पनि सबै आफन्तजनहरू भेला भई आफूभन्दा ठूलो मानिसको हातबाट जमरा र टीका थाप्ने चलन छ। र, थारू समुदायले दशैं विशेषमा सुंगुरको मासु, फलफूल, जाँडरक्सी, मिठाइजस्ता परिकार बनाउँछन्।’
पहिलेजस्तो छैन उत्साह
सुदूरपश्चिममा पनि आधुनिकताले गर्दा केही वर्षयता दशैं मनाउने प्रचलनमा फरकपन आइरहेको उनको भनाइ छ। खासगरी, पहाडी जिल्लाहरूमा केही वर्ष अघिसम्म दशैं आउनु अगावै सबै जम्मा भई पिङ हाल्ने, नाटक देखाउन अभिनय सिकाउने चलन थियो। जुन धेरै हदसम्म हराइसकेको उनी बताउँछन्।
बढ्दो आधुनिकतासँगै मानिस समूहमा भन्दा पनि आफैंमा रमाउन थालेकाले हिजोआज दशैंमा गाउँघरमा पहिलेजस्तो रौनक नछाउने गरेको उनको भनाइ छ। भन्छन्, ‘पहिले भारतमा रोजगारीमा रहेका युवा टेपमा दशैंका गीत बजाउँदै, बाटोमा भेटिने चिनेको मानिसलाई उताबाट ल्याएको कोसेली बाँड्दै आएपछि बल्ल दशैं आएजस्तो लाग्थ्यो।’
दशैंमा धेरै आफन्त एकै ठाउँमा भेला भई खानपिन गर्ने भएकाले घरमा रहेका महिलाहरू१०-१५ दिन अगाडि तयारीमा जुट्थे। पहाडमा मिल हुँदैनथे। त्यसैले ओखलमा धान कुट्ने गर्थे। र, अष्टमीको दिनमा सेलरोटी पकाउनुपर्ने भएकाले बिहानै उठी चामल भिजाएर जाँतो भएको घरमा पुगी पिठो बनाउँथे। तर, अहिले पहाडी जिल्लाहरूमा पनि कुटानी पिसानी मिल पुगिसकेका छन्। डा. जोशी भन्छन्, ‘अब पहाडी जिल्लाका मानिसहरू पनि दशैंमा नभई आवश्यक पर्दा जहिले पनि कुटानी पिसानी गर्छन्। त्यसकारण पहिलेभन्दा धेरै हदसम्म दशैंको रौनकमा कमी आइसक्यो।’