काठमाडौं- कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) हराएका खोप कार्ड बनाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको छ।
सार्वजनिक स्थानमा अनिवार्य खोप कार्डको माग हुने भएकाले हराएकाहरुलाई यथाशक्य कार्ड बनाइदिन सिफारिस गरेको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।
यस्तै, सीसीएमसीले सोमबारदेखि काठमाडौं उपत्यकाको जोरविजोर हटाउन सिफारिस गरेको छ। आइतबार बसेको बैठकले उपत्यकाको जोरविजोर हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको सीसीएमसी प्रवक्ता नेपालले जानकारी दिइन्। जोरविजोरले सवारीमा झन् भिडभाड बढेको भन्दै हटाउन जनस्तरबाट माग हुँदै आएको थियो।
बैठकले १ फागुनदेखि स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेन्टरलगायतका अन्य शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सिफारिस गरेको छ। १२ वर्षमाथिका विद्यार्थीहरू अध्ययन गर्ने कक्षा नियमित गर्न र त्यसभन्दा तलका विद्यार्थीलाई आलोपालो गरेर कक्षा चलाउन सीसीएमसीले शिक्षा मन्त्रालय र गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बैठकले सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ क्लब, जिम, स्विमिङ पुल, फुटसल जनस्वास्थ्यको पालना गर्दै १ फागुनदेखि राति १० बजेसम्म सञ्चालन गर्न गृह मन्त्रालय र पर्यटन मन्त्रालयाई सिफारिस गरेको प्रवक्ता नेपालले जानकारी दिइन्।
सीसीएमसीले आफ्नो जिल्लाको कोभिड संक्रमण अवस्था हेरेर स्मार्ट लकडाउनको विधिअनुसार निरीक्षण र निगरानी गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै एक सयजना अथवा कुल क्षमताको ५० प्रतिशत रहने गरी पार्टी प्यालेस सञ्चालन गर्न र कुल क्षमताको ५० प्रतिशत दर्शक रहने गरी खेलकुद गतिविधि सञ्चालन गर्न पनि सिफारिस गरेको छ।