सुनसरी- भोक्राहा नरसिहं गाउँपालिका-३ खुनिया पुलस्थित सडकमा ना.८ ख ८४९३ नम्बरको बस र ना.२ ख २९९६ नम्बरको ट्रक शुक्रबार राति एकआपसमा ठक्कर खाई आगलागी समेत हुँदा ३ जनाको जलेर मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा बसका चालक झापा गोलधाप-१ घर भएका ४५ वर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगाल कालचोनी बस्ने २५ वर्षीय निहाल प्रधान र ट्रकका चालक बारा निजगढ नगरपालिका-९ घर भएका २७ वर्षीय शेख फिरोज रहेका छन् । साथै दुर्घटनामा घाइते भएका २७ जनाको सुनसरी र विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आवश्यक उद्दार कार्य गरेको थियो ।